चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमणका लागि आज नेपाल आउँदै, यस्तो छ कार्यक्रम
वीरगंज संजाल
२५ आश्विन २०७६, शनिबार १२:३२
२९८७
काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । साँझ ५ बजे विमानस्थलमा उत्रिएपछि सी होटल सोल्टी जाने छन् । सीको बसोबासको व्यवस्था ताहचलमा रहेको होटल सोल्टी क्राउन प्लाजामा गरिएको छ ।
त्यसका लागि उक्त होटल पूरै रिजर्भ गरिएको छ । सीसँग आउने प्रतिनिधिमण्डल मात्र बस्नका लागि २ सय ८२ कोठा रहेको होटल नै बुक गरिएको छ । सीको सुरक्षाका लागि पूरै होटल रिजर्भ गरिएको हो भने होटलमा रहेको उपहार र अन्य पसलहरुसमेत बन्द गरिएका छन् ।
सीको बसोबासको लागि होट पहिले नै बुक भएपछि यस समयमा होटलले अरु पाहुनाका लागि बुक गरेको थिएन । सी आइतबार दिउँसो सम्म होटल सोल्टीमा रहने छन् ।
कति पर्छ भाडा ?
होटल सोल्टीको एउटा कोठाको भाडा एक दिनको करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । यो सामान्य भाडा दर हो । जस अनुसार सबै कोठाको तीन दिनको भाडा करिब डेढ करोड रुपैयाँ होटललाई तिर्नुपर्ने हुन्छ । यो सामान्य भाडा दरमात्र हो ।
यस्तो छ कार्यक्रम
सीका अधिकांश भेटघाट र रात्रिभोजको कार्यक्रम समेत होटल सोल्टीमा नै राखिएको छ ।
शनिवार(आज) विमानस्थलबाट सी सिधैं होलट सोल्टीमा पुग्ने कार्यक्रम रहेको छ । केही बेर आराम गरेपछि सी ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न शीतल निवास जानेछन् ।
राष्ट्रपतिसँगको शिष्टाचार भेटवार्तापछि सी पुन होटल सोल्टी फर्कने छन् । उनले सवा ७ बजे होटल सोल्टी मै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।
सीको सम्मानमा होटल सोल्टीमा नै साढे ७ बजे राजकीय भोजको आयोजना गरिएको छ ।
त्यस्तै आइतवार विहान साढे १० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै होटल सोल्टीमै भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साढे ११ बजे प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता र द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।