

वीरगंज | सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको शुक्रबारदेखि पोखरामा सुरु भएको अन्तरक्रिया तथा अनुभव आदान–प्रदान कार्यक्रममा व्यवस्थापिकाको भूमिकालाई बलियो र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभाहरूले धेरै कानुन बनाए पनि तिनको कार्यान्वयन र संशोधन गर्नुपर्ने कानुनबारे समीक्षा गर्नुपर्ने बताए। व्यवस्थापिकाको भूमिकालाई कमजोर बनाउने र खुम्च्याउने प्रयास हुन सक्ने भन्दै सङ्घीय संसद् र प्रदेशसभाहरूले आफ्नो भूमिका बढाउनुपर्ने उनको भनाइ छ।



कानुनलाई आफूअनुकूल ढङ्गले व्याख्या गर्न खोज्ने प्रवृत्ति देखिएकाले कानुन र संविधानको पूर्ण पालना गराउन व्यवस्थापिकाको भूमिका महत्त्वपूर्ण हुने सभामुख धितालले बताए।
संविधानको मुख्य आधारस्तम्भ सङ्घीयता भएकाले यसको संरक्षण र संवर्द्धनमा सङ्घीय संसद् र प्रदेशसभाहरू सँगसँगै अगाडि बढ्नुपर्ने सङ्घीयताविज्ञ खिमलाल देवकोटाले बताए। कार्यक्रमले प्रदेशसभाको भूमिका थप प्रभावकारी बनाउन र असल अभ्यास आदान–प्रदान गर्न सघाउने उनको भनाइ छ।
गण्डकी प्रदेशसभाका सचिव गोविन्द पौडेलले विधायिकी प्रक्रिया र कानुन निर्माणमा एकरूपता ल्याउँदै तिनको प्रभावकारिता परीक्षण गर्नुपर्नेमा जोड दिए। संसदीय कार्यकुशलता अभिवृद्धिका लागि अनुभव आदान–प्रदान कार्यक्रम उपयोगी हुने उनले बताए।
कार्यक्रममा वित्तीय सङ्घीयता र स्वायत्तताको अभ्यासबारे छलफल हुने उनले जानकारी दिए। सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको नियमित संवादले आपसी समन्वय बलियो बनाउँदै विगतका घोषणापत्र कार्यान्वयनमा सघाउने सचिव पौडेलले उल्लेख गरे।
गण्डकी प्रदेशसभा सचिवालयद्वारा आयोजित उक्त कार्यक्रममा सङ्घीय संसद् र सातवटै प्रदेशसभाका सचिव, कर्मचारीलगायतको सहभागिता रहेको छ।


