

वीरगन्ज । वीरगन्जस्थित एक क्यासिनोमा प्रहरीले मध्यराति छापा मारेर जुवा खेलिरहेको तथा खेलाइरहेको आरोपमा नेपाली नागरिक र क्यासिनोका कर्मचारीसहित १२ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) मा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो।



नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाउने गरिएको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार राति करिब ११ः५० बजे छापा मारेको थियो। सो क्रममा जुवा खेलिरहेको र खेलाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा पर्साको वीरगन्जका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोष कुमार यादव र २४ वर्षीय अनुराग कुमार, पर्सागढीका २६ वर्षीय दिनेश साह र ४८ वर्षीय दीपक साह रहेका छन्।
त्यसैगरी बाराको कलैयाका ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारतका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीको मरिनका २७ वर्षीय बिनोद कुमार लो र काठमाडौंको साँखुका ४० वर्षीय राजेश श्रेष्ठ पनि पक्राउ परेका छन्।
यसैगरी नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउन संलग्न रहेको आरोपमा बैतडीको दोगडाकेदारका ५४ वर्षीय तिलक प्रसाद भट्ट, वीरगन्जका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाईका ४६ वर्षीय दीपक राज पराजुलीलाई समेत प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका सबै १२ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।


