

वीरगंज | गृहमन्त्री सुधन गुरुङले राति अबेरसम्म स्कुटरमा चढेर सीमा क्षेत्रदेखि कोसी अस्पतालको खाली गराइएको जग्गासम्मको आकस्मिक निरीक्षण गरेका छन् । शुक्रबार (मंसिर ११) दिउँसो विवाहको ‘इन्गेजमेन्ट’ सकाएर साँझ उनी विराटनगर आइपुगेका थिए ।
शुक्रबार बेलुका ७ बजे विराटनगर विमानस्थलमा ओर्लिएका गृहमन्त्री गुरुङलाई मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले स्वागत गरेका थिए । विमानस्थलबाट सिधै कोसी प्रदेश प्रहरी कार्यालय पुगेका उनले त्यहाँ सुरक्षा अधिकारीहरूसँग राति अबेरसम्म छलफल र खाना खाएका थिए ।



लगत्तै उनले ‘रानी क्षेत्रतिर जाऊँ’ भन्दै आफैँ स्कुटर चढेर अघि बढेपछि प्रदेश प्रहरी प्रमुख एवं डीआईजी शेखर खनाल, सशस्त्र प्रहरी बलका डीआईजी, मोरङका एसपीलगायत सुरक्षा टोली पछिपछि लागेको थियो । उक्त टोलीले राति नै नेपाल–भारत सीमा क्षेत्र तथा जोगवनी नाकाको स्थलगत अवलोकन गर्यो ।
सीमा क्षेत्रको निरीक्षणपछि विराटनगर बजारतर्फ फर्किएका गृहमन्त्री गुरुङले मध्यराति कोसी अस्पतालको अतिक्रमित जग्गाको समेत निरीक्षण गरे । उक्त जग्गा दुई महिनाअघि मात्र खाली गराइएको थियो ।
गृहमन्त्रीसहितको उच्च सुरक्षा टोलीले अबेर राति सीमा क्षेत्रमा गरेको आकस्मिक निरीक्षणको विषय यति बेला विराटनगरमा चर्चाको केन्द्रमा छ ।
गुरुङ समुदायको संस्था ‘तमु छोंज धिं’को राष्ट्रिय परिषद् भेलामा सहभागी हुन गृहमन्त्री विराटनगर आएका हुन् । सोही मौकामा उनले राति नै सीमानाकादेखि कोसी अस्पतालसम्मको निरीक्षण गर्न भ्याएका हुन् ।
विराटनगरबाट शनिबार (मंसिर १२) बिहान करिब ९ बजे नै उनी सुनसरीको धरानतर्फ प्रस्थान गरेका छन् । धरानमा उनी कुन कार्यक्रम वा भेटघाटमा सहभागी हुनेछन् भन्ने खुलाइएको छैन । त्यसपछि उनी इटहरी फर्कने कार्यतालिका छ ।
प्रहरीका अनुसार, इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे तमु धोंज धि जिल्ला कार्यसमितिको सहयोगमा आयोजित राष्ट्रिय परिषद् भेलाको उद्घाटन गरेपछि गृहमन्त्री गुरुङ पुनः विराटनगर फर्कनेछन् ।


