

वीरगंज | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् सेवाको सुनिश्चितताका लागि वितरण केन्द्र प्रमुखहरूलाई अग्रसरता लिन निर्देशन दिनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् महसुल सङ्कलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा प्रवाहमा थप सुधार आवश्यक रहेको बताउनुभयो ।



उहाँले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उपभोक्ताले गुणस्तरीय, सुरक्षित र अविच्छिन्न विद्युत् सेवा पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताउनुभयो । चुहावट नियन्त्रण, पूर्वाधार स्तरोन्नति र विपद् प्रतिरोधी वितरण प्रणाली निर्माणमा प्राधिकरणका सबै तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्राधिकरणले गण्डकी प्रदेशका ११ जिल्लामा पाँच लाख ३५ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा एक अर्ब ५८ करोड ११ लाख रुपियाँभन्दा बढी विद्युत् महसुल सङ्कलन भएको छ । यो लक्ष्यको ९९.१ प्रतिशत हो ।
त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा ट्रान्सफर्मर जल्ने घटनामा ७२.५ प्रतिशतभन्दा बढी कमी आएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा ३१३ वटा ट्रान्सफर्मर जलेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ८६ वटा मात्र जलेका छन् । मन्त्री श्रेष्ठले यसलाई वितरण प्रणालीमा आएको सुधारको सकारात्मक सङ्केतका रूपमा लिनुभएको छ ।
गण्डकी प्रदेशमा १३ वटा वितरण केन्द्र, चार हजार ७९६ वितरण ट्रान्सफर्मर र २८ वटा ३३/११ केभी सबस्टेसनमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ । तर, प्रदेशमा विद्युत् चुहावट ६।७८ प्रतिशत रहेको छ, जुन चालु आर्थिक वर्षको ६.६५ प्रतिशत लक्ष्यभन्दा केही बढी हो । चुहावटलाई निर्धारित सीमाभित्र ल्याउन प्रभावकारी कदम चाल्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो ।
प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशको विद्युत् वितरण संरचनामा करिब ११ करोड १० लाख रुपियाँ बराबरको क्षति पुगेको छ । बाढीपहिरोका कारण ६८ किलोमिटर ३३ केभी लाइन, ७९ किलोमिटर ११ केभी लाइन, ६३ किलोमिटर एलटी लाइन, ७३१ वटा पोल र ५७ वटा ट्रान्सफर्मरमा क्षति पुगेको छ ।
क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सुरज गौतमले कार्यालयको कार्यप्रगति, सेवा प्रवाहको अवस्था र आगामी दिनमा सुधार गर्नुपर्ने विषयबारे जानकारी गराउनुभएको थियो ।


