

दक्षिण दिनाजपुर । भारतको पश्चिम बंगालस्थित दक्षिण दिनाजपुर जिल्लाको गंगारामपुरमा एक हृदयविदारक तथा भयावह हत्या घटना सार्वजनिक भएको छ। गंगारामपुर नगरपालिका क्षेत्रको नारायणपुर, वडा नम्बर ४ मा एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको निर्मम हत्या गरेका छन्।
प्रहरीका अनुसार हत्या गरिएकी महिला ३५ देखि ४२ वर्ष उमेर समूहकी सीमा सरकार (घोष) हुन्। घटनामा संलग्न रहेको आरोपमा उनका श्रीमान् रिन्टु घोषलाई प्रहरीले पक्राउ गरेको छ। उनी उत्तर बंगाल राज्य यातायात निगम (NBSTC) का पूर्व बस कन्डक्टर रहेको बताइएको छ।video_20261109_095309video_20261109_095309



प्राप्त विवरणअनुसार रिन्टु घोषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि उनको काटिएको टाउको र हातमा हतियार लिएर स्थानीय काली मन्दिरभित्र पुगेका थिए। उनी मन्दिरभित्रै बसेको अवस्थामा भेटिएका थिए। घटनाको सबैभन्दा पीडादायी पक्ष उनका दुई साना छोराहरू पनि त्यही आसपास उपस्थित थिए।
स्थानीय बासिन्दाहरूले मन्दिरभित्र रगतले लतपतिएको अवस्थामा आरोपीलाई हातमा धारिलो हतियार र श्रीमतीको काटिएको टाउकोसहित देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ गंगारामपुर प्रहरी थानाका इन्स्पेक्टर इन्चार्ज पूर्णेन्दु कुण्डुको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल कारबाही गर्दै आरोपी रिन्टु घोषलाई नियन्त्रणमा लिई पक्राउ गरेको छ। साथै, मृतक महिलाको शव र काटिएको टाउकोलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।
प्रहरी भ्यानमा राखेर लैजाने क्रममा आरोपी रिन्टु घोषले सञ्चारमाध्यमसँग कुरा गर्दै आफूले जागिर गुमाएपछि र प्रहरी चौकी जानुपरेपछि मानसिक रूपमा ‘साइको’ अर्थात् असामान्य अवस्थामा पुगेको दाबी गरेका थिए।
प्रारम्भिक अनुसन्धान तथा आफन्तहरूले दिएको जानकारीअनुसार बस कन्डक्टरको जागिर गुमाएपछि रिन्टु आर्थिक संकट र मानसिक तनावमा पर्दै आएका थिए। त्यसपछि उनले साना व्यवसाय सञ्चालन गर्ने प्रयास गरे पनि सफल हुन सकेका थिएनन्। व्यवसायमा असफलता र आर्थिक समस्याका कारण उनको व्यवहारमा परिवर्तन आएको आफन्तहरूको भनाइ छ।
बताइएअनुसार पछिल्लो समय उनले मांसाहारी खाना खानसमेत छाडेका थिए भने उनको रहनसहन र व्यवहार तान्त्रिक व्यक्तिहरूको जस्तो देखिन थालेको थियो।
घटनापछि प्रहरीले पारिवारिक विवाद, आर्थिक अभाव, बेरोजगारी तथा आरोपीको मानसिक अवस्थालगायत सबै पक्षलाई आधार बनाएर अनुसन्धान अघि बढाएको छ।
आफ्नै श्रीमतीको हत्या गरी काटिएको टाउकोसहित मन्दिरभित्र बसेको यस घटनाले स्थानीय क्षेत्रमा त्रास र स्तब्धता फैलाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
