

जनकपुरधाम । तिहार र छठ पर्वलाई मध्यनजर गर्दै धनुषा जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। चाडपर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित बनाउने उद्देश्यले जिल्लामा १२ सय ४० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिएका हुन्।
डिएसपी खनालका अनुसार तिहारको समयमा हुन सक्ने जुवातास खेल, पटका पड्काउने गतिविधि, आगलागीका घटना तथा चोरीका जोखिमलाई नियन्त्रण गर्न प्रहरीले विशेष रणनीति अपनाएको छ। सुरक्षालाई प्रभावकारी बनाउन सादा पोसाकमा प्रहरी परिचालन, पैदल तथा मोटरसाइकल गस्ती र रात्रिकालीन समयमा एम्बुसिङ टोलीसमेत खटाइएको छ।
चाडपर्वमा धेरै मानिसहरू घर छाडेर अन्यत्र जाने भएकाले चोरीका घटना बढ्न सक्ने जोखिम औँल्याउँदै प्रहरीले घर छाड्दा नजिकको प्रहरी युनिट, छिमेकी वा विश्वासिला आफन्तलाई जानकारी गराउन तथा घरको रेखदेखको व्यवस्था मिलाउन नागरिकलाई आग्रह गरेको छ। यसका साथै, भीडभाड हुने स्थान वा सार्वजनिक स्थलमा जाँदा अत्यधिक महँगा सुनका गरगहना तथा बहुमूल्य वस्तुहरू नलगाउन समेत प्रहरीले विशेष सचेत गराएको छ।
चाडपर्वका अवधिभर कुनै पनि किसिमका आपराधिक गतिविधि हुन नदिन र नागरिकले भयरहित वातावरमा पर्व मनाउन पाउन भन्ने सुनिश्चिताका लागि यो सुरक्षा परिचालनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।


