

वीरगंज | भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आगामी बुधबार नेपाल आउने भएका छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नोभेम्बर ४ देखि ५ सम्म नेपाल भ्रमणमा आउन लागेका हुन्।



भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव र भारतीय विदेश सचिवबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुई देशबीच लामो समयदेखि रहँदै आएको निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल हुनेछ।
नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
मिस्री नोभेम्बर ५ मा काठमाडौं हुँदै नयाँदिल्ली फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।


