

बारा । सिकिन्द्र साह l बारा जिल्लाको कलैयास्थित करण राज प्यालेसमा सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा ‘मधेश अबको बाटो’ तथा ‘मधेश आन्दोलनको समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक अभियन्ता सञ्जय यादवको नेतृत्वमा आयोजित कार्यक्रममा मधेश आन्दोलनको इतिहास, उपलब्धि, चुनौती तथा आगामी दिनमा मधेशले लिनुपर्ने बाटोका विषयमा छलफल गरिएको थियो।



कार्यक्रममा वक्ताहरूले मधेश आन्दोलनका कारण राजनीतिक क्षेत्रमा विभिन्न उपलब्धि हासिल भएको उल्लेख गर्दै पहिलो मधेशी राष्ट्रपति डा. रामवरण यादवसहित मधेशी समुदायबाट विभिन्न उच्च पदमा प्रतिनिधित्व स्थापित भएको बताए।
तर, आन्दोलनबाट प्राप्त उपलब्धिका बाबजुद मधेशी जनताले अझै पनि विभिन्न समस्या भोग्नुपरेको उनीहरूको भनाइ थियो। विशेषगरी भारतसँग जोडिएको सीमा नाकाबाट सामान्य खाद्यान्नसमेत ल्याउँदा सर्वसाधारणले दुःख र सास्ती भोग्नुपरेको तथा राज्यका विभिन्न प्रतिबन्धका कारण सीमावर्ती जनजीवन प्रभावित भएको विषय उठाइएको थियो।
त्यसैगरी मधेश आन्दोलनका सहिदहरूको राज्यबाट अपेक्षाअनुसार सम्मान र कदर हुन नसकेको भन्दै वक्ताहरूले सहिद परिवारको उचित सम्मान र योगदानको स्मरण गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका क्रममा सहिद हिफाजत मियाँ अन्सारीकी श्रीमती शोभा राजवंशी तथा अन्य सहिद परिवारका आमा-बुवालाई खादा ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा महिला, ज्येष्ठ नागरिक, सञ्चारकर्मी तथा सामाजिक अभियन्ता अरविन्द यादव लगायतको सहभागिता रहेको थियो।


