

दाङ | बेचेको जग्गा पुन: आफ्नै नाममा गराउने बाँकेका दिलीप थापालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय दाङमा बुझाएको छ।
दाङको घोराही उपमहानगरपालिका- ७ सौडियार निवासी चन्द्रभानु भट्टराई परिवारलाई बेचेको चार कित्ता जग्गा थापाले आफ्नो नाममा बनाएको आरोप छ। आफ्नो नाममा बनाएर जग्गामा दोहोरो स्वमित्व कायम भएको र त्यस विषयमा पटक-पटक भूमि प्रशासन कार्यालय दाङले उपस्थित हुन भने पनि थापाले अटेरी गर्दै आएका थिए।



उनले भूमि प्रशासन कार्यालयलाई अटेरी गरेपछि कार्यालयले जिल्ला प्रशासन कार्यालय दाङलाई थापालाई उपस्थित गराइदिन पत्र लेखेर आग्रह गरेको थियो। प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई गरेको आग्रहअनुसार प्रहरीले थापालाई बाँकेबाट नियन्त्रणमा लिएर प्रशासन कार्यालयमा पठाएको छ।
दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले थापालाई उपस्थित हुन भनिएको र उनी उपस्थित भएको जानकारी दिए। उनलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो।
शुक्रबार आज थापा भूमि प्रशासन कार्यालयमा पुग्दैछन्। थापा उपस्थित भएसँगै पीडित भट्टराई परिवार पनि भूमि प्रशासन कार्यालयमा जाँदैछ।


