

वीरगन्ज | वीरगन्ज महानगरपालिकाले आज(शुक्रबार )शोक विदा दिएको छ।
महानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारी धर्मेन्द्र राउत र स्वयंसेविका मन्जुदेवी कटवालको निधनमा महानगरपालिकाले आज शोक विदा दिएको हो। दुवै जनाको निधनप्रति दुःख व्यक्त गर्दै महानगरपालिकाले अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा तथा प्रशासनिक कामकाज बन्द गरेको छ।



महानगरपालिकाले आजै बिहान एक कार्यक्रम आयोजना गरी दिवंगत राउत र कटवालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरेको छ।महानगरका मेयर राजेशमान सिंह, प्रशासन प्रमुख किर्तिराज सुवेदी लगायतले दिवंगत दुवै जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको निधनले महानगरपालिकालाई अपूरणीय क्षति पुगेको बताएका थिए।
दिवंगत दुवै जनाले महानगरपालिकाको सेवामा पुर्याएको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।
महानगरपालिकाले दिवंगत दुवै जनाको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनलाई यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।


