औरही नगरपालिकामा अझ सुशासन कायम हुन सकेन, अनुगमन गर्ने निकाय नै अस्तव्यस्त
वीरगंज संजाल
२७ कार्तिक २०७६, बुधबार २२:११
६९४५
महोत्तरी | धर्वेन्द्र कुमार यादव | महोत्तरीको औरही नगरपालिकामा रहेका सरकारी कार्यालयमा अझ सुशासन कायम हुन सकेको छैन । नगरभित्रका सरकारी कार्यालयहरु समयमा सुचारु हुन नसक्दा स्थानिय सेवाग्राहीहरु समयमा सेवा लिनबाट वन्चित भएका छन भने उनीहरु प्रत्यक्ष मार्कामा परेका छन ।
नगरपालिका लगायतका सम्बन्धित सरोकारवाला निकायको समय समयमा निगरानी एवम अनुगमन नभएकै कारण नगरभित्रमा संचालित सामुदायिक संस्थामा सर्वसधारणहरुले सुलभ र सरल रुपमा कामकाज गराउन सकेका छैन । यहाँ रहेका नगरपालिकाको कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थाहरु निर्धारित समयमा कार्यालय नखुल्दा सेवा लिनका लागि सेवाग्राहीहरु अलपत्रमा परेका छन ।
वुधबार विहान १० बजेको समयमा औरही नगरपालिका २ का दिनेश यादव आफना ८ बर्षिय भतिज प्रणव यादवलाई स्वास्थ्य जाँचका लागि नजिकै रहेको स्वास्थ्य संस्थामा उपचारको लागि गएका थिए । त्यहाँँ जाँदा उनले समयमा जाँच गराउन पाएन कारण थियो अस्पतालको मुलगेटमा ताला लागेको । दिनेश एक छिन त अल्मलमा परे । उनलाई लाग्न थाल्यो आज शनिवार हो वा विदाको दिन । तर पछि उनले थाहा पाए कर्मचारीहरुको अटेरीपन एवम लापरवाहीले स्वास्थ्यजस्तो संवेदनशील संस्था पनि समयमा खुल्न नसकेको वास्तविकता । करिब १ घण्टाको प्रतिक्षापछि अस्पतालका कर्मचारीले कार्यालयको ताला खोलेका थिए । अनि मात्र कार्यालयमा कर्मचारीहरुको प्रवेशसँगै सेवाग्राहीहरु तत्कालिन सेवा पाउन थाले ।
यो त एक उदाहरण मात्र हुन । यहाँका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवम आर्थिक फाँट लगायतका शाखाहरु नियमित रुपमा संचालन हुन नसकेको स्थानिय दरेश यादवले बताएका छन । नगरपालिकाको कार्यालयले गत आर्थिक बर्षमा सम्पन्न गरेको कामको भुक्तानी नदिएको कारण कार्यरत कर्मचारीहरु सेवाग्राहीको भार थेग्न नसक्दा उनीहरु अधिकांश रुपमा अनुपस्थित रहदै आएको यादवले जानकारी दिएका छन । त्यस्तै पेशाले चिकित्सक रहेका डा. सुदिप कुमार यादवका अनुसार कर्मचारीहरुलाई नगरपालिकाले समयमा निगरानी नगर्दा कार्यालय अस्तव्यस्त हुँदै गएको प्रतिक्रिया दिएका छन । नगरपालिकाले कर्मचारीलाई सरुवा गर्दा नगरभरि रहेका कार्यालयहरुमा सुशासन कायम हुने तर्क राखेका छन ।
यस सम्बन्धमा नगरप्रमुख सुनिल कुमार यादवले समयमा नखुल्ने कार्यालयहरुको सम्बन्धमा चाँडै नै अनुगमन गर्दै ठोस कदम उठाएर नगरभरिमा सुशासन कायम राख्ने प्रतिवद्धता जनाएका छन । स्थानिय सरकारसँग समन्वयन गरि अनुगमनको वातावरण बनाउनका लागि आफुले नगरप्रमुखलाई मौखिक निर्देशन दिईसकेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यवहादुर खत्रीले बताएका छन ।