गढीमाई मन्दिरको विकासका लागि तीनै तहको सचेतना आवश्यक –मुख्यमन्त्री गद्दी
वीरगंज संजाल
२७ आश्विन २०७६, सोमबार २३:५८
४६१९
प्रस | प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले बारा गढीमाई मन्दिरको विकास र संवद्र्धनका लागि तीनै तहका सरकारको सहयोग आवश्यक रहेको बताएका छन् ।गढीमाई मन्दिर सञ्चालक तथा विकास समितिको पाँचौं साधारणसभाको उद्घाटन गर्दै २ नं. प्रदेशका जनतालाई यहाँका धार्मिक स्थलहरूको संरक्षण, उन्नति र विकासमा गर्न अग्रसर हुन मुख्यमन्त्री गद्दीले आग्रह गरे । उनले यस प्रदेशमा पर्यटन प्रवद्र्धनको पर्याप्त अवसर रहेको औंल्याए ।
पाँच वर्षमा लाग्ने गढीमाई मेलाबारे स्थानीय तहमा विवाद हुनु राम्रो कुरा होइन भन्दै उनले गढीमाई बाराको मात्र नभई पूरै देशको धार्मिक धरोहरको रूपमा रहेको बताए । मन्त्री राउतले मेला भव्य र सभ्य तरीकाबाट मनाउन प्रदेश सरकारले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै मेलाबारे अनावश्यक विषय झिकेर नगरपालिका र स्थानिय बासिन्दाबीच कुनै किसिमको विवाद सृजना हुनु दुःखद रहेको बताए ।
उनले कृषि, पर्यटन, व्यवसाय आदि विषयमा प्रदेश सरकार सदैव प्रतिबद्ध र अग्रसर रहँदै कार्य गर्ने बताए । मेलामा खटेको सुरक्षाकर्मीको कमी–कमजोरीबारे उनले प्रहरीलाई तदारुक रहन आदेश दिएका थिए ।कार्यक्रममा प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले गढीमाईको बृहत्तर विकासका लागि प्रदेश सरकारले गुरुयोजना बनाई कार्य गरिरहेको बताए ।
मन्दिर सञ्चालक तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्थ राज्यमन्त्री उषादेवी यादव, समाजवादी पार्टीका महासचिव तथा सांसद रामसहाय यादव, प्रदेशसभा सदस्य रमेश यादव, शारदाशङ्कर प्रसाद, बच्चालाल यादव लगायतको सहभागिता थियो ।