आधुनिक बसपार्कको मङ्गलवार उद्घाटन गर्ने तयारी, ठेकेदारले निर्माण कार्यमा लापरवाही गरेको आरोप
वीरगंज संजाल
९ भाद्र २०७६, सोमबार ०२:०४
५१३५
वीरगंज|५ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको वीरगंज बसपार्क मङ्गलवारदेखि सञ्चालनमा आउने भएको छ । वीरगंज महानगरले भदौ १० गते समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले वीरगंज बसपार्कको उद्घाटन गर्ने समयतालिका बनाएको छ ।
सोही क्रममा आजदेखि बसपार्कको सरसफाइ तथा मरम्मत शुरू भएको छ । नवनिर्मित बसपार्कमा अधिकांश कार्य अधूरो रहेको देखिएको छ । गुणस्तरहीन कार्य भएको स्थानीयको आरोप छ । कालोपत्र उप्किएको, नालाको फलामे बिर्को टुटफुट भएको तथा प्रतीक्ष्Fालयको छाना हावाहुरीले भत्काएपछि टुटफुटलाई टालटुल गरेको आरोप स्थानीय व्यवसायी सोनालाल शर्माको छ । सन् २०१५ फेब्रुअरीमा रु १७ करोड ७३ लाखमा टेन्डर सकार गरेका आशीष, प्रभु, रोशन जेभीले रु १५ करोड ७० लाख भुक्तानी मात्र पाउने भएका छन् ।
योजना अनुसार काम नगरेको तथा विगतका स्टिमेटभन्दा फरक तरीकाले काम गरेको कारण रु २ करोड महानगरपालिकाले कट्टा गरेको जानकारी दिएको छ । सन् २०१६ अप्रिल १६ सम्म निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनीले चारपटक म्याद थपेको देखिन्छ । नवनिर्मित आधुनिक बसपार्कको भुइँतलामा लबिङ रूम, प्रतीक्षालय, टिकट काउन्टर, उपचार केन्द्र, फोटोकपी, खानेपानी, लगेज रूम, दोस्रो तलामा रेस्टुरा, बस व्यवसायीहरूका कार्यालय छन् ।
बसपार्कमा १२४ वटा बस, १७ वटा टाटासुमो, मोटरसाइकल ५०, टाँगा २१, रिक्शा ४० वटा पार्किङ गर्ने व्यवस्था छ । बसपार्कमा ५५ वटा भाडाको सटर कोठा तथा शौचालय छ ।