उपनिर्वाचनका लागि मतदान सुरु, ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा
वीरगंज संजाल
१४ मंसिर २०७६, शनिबार ०९:१३
३७८७
काठमाडौँ । उपनिर्वाचन हुन लागेका ठाउँका विहान ७ बजेदेखि मतदान सुरु भएको छ । अधिकांश ठाँउमा विहानैदेखि मतदाता मतदान केन्द्रमा आइसकेको र निर्वाचनका लागि खटिएका सवै कर्मचारी तथा सुरक्षाकर्मीहरु पनि तयारी अवस्थामा रहेको निर्वाचन आयोगले जनाएको छ ।
अधिकांश ठाँउमा विहान ७ बजे लगत्तै मतदान सुरु भएको र केही ठाँउमा केही ढिला गरी सुरु भएको आयोगको भनाई छ । आयोगले मतदान सुरु हुन नसकेको वा कुनै बाधा भएको विवरण अहिलेसम्म कतैबाट पनि नआएको जनाएको छ ।
३७ जिल्लाका रिक्त ५२ पदका लागि आज उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्र गरी ३ सय ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी छन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले रिक्त ५२ पदका लागि ३ सय ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।
उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ ११, प्रदेशसभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यको लागि २० वटा राजनीतिक दलले सहभागिता जनाउँदै छन् । प्रतिस्पर्धामा उत्रिएका कुल ३ सय ३७ जना उम्मेदवारमध्ये राजनीतिक दलतर्फ २ सय ५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेको निर्वाचन आयोगले जनाएको छ ।
जसमध्ये २ सय ५३ पुरुष उम्मेदवार उपनिर्वाचनका लागि चुनावी मैदानमा छन् भने ८४ जना महिला उम्मेदवार छन् ।
प्रतिनिधिसभातर्फ राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी जम्मा २१, प्रदेशसभा सदस्यतर्फ राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी ४३ र स्थानीय तहका सदस्यतर्फ राजनीतिक दलका २ सय १३ र स्वतन्त्र ६० गरी जम्मा २ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका हुन् ।
उपनिर्वाचनका लागि ३७ जिल्लामा गरी २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन् ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रतिनिधिसभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेशसभा सदस्यतर्फ ७८ मतदान स्थल र १ सय ७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थल र २ सय ८१ मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो ।