काठमाडौं । जापानको राजधानी टोक्योलगायतका स्थानमा आएको ‘हागिबिस’ आँधीका कारण २५ जनाको मृत्यु भएको छ । आँधीपछि करिब १५ जना हराइरहेका अधिकारीले बताएका छन् ।
आँधीसँगै भएको वर्षाका कारण कैयौँ नदीमा बाढी आएको र नदीको पानी बस्तीमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो । ‘आँधीका कारण ३ लाख ७६ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको, १४ हजार घरमा खानेपानीको अभाव भएको छ’, प्रमुख सचिव योशिहिदे सुगाले भने ।
उद्धारकर्ताले दिएको जानकारीअनुसार शनिबार साँझ आएको आँधीका कारण कैयौँ स्थानमा बाढी पहिरो गएको र कतिपय बस्ती डुबानमा परेका छन् ।
सरकारले आँधीपछि २७ हजार स्वयंसेवकलाई उद्धार र राहतका लागि खटाएको जनाएको छ । भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा बाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ ।
हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो। हालैका वर्षमा यो निकै शक्तिशाली आँधी हो । यो आँधी प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा थियो ।
आजको अन्नपूर्ण पोष्ट दैनिकले यो समाचार प्रकाशित गरेको छ ।