
बारा | बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अभद्र व्यवहार मुद्दामा ३७ वर्षीय वडा अध्यक्ष कुशवाहालाई आइतबार पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार २०८३ वैशाख १७ गते जारी भएको पक्राउ पुर्जी तथा अदालतको अनुमति आदेशका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा खटिएको प्रहरी टोलीले कुशवाहालाई कलैया उपमहानगरपालिका–२३ बैराठपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका कुशवाहालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको सूचना घलेले जानकारी दिए।
