वर्षा सुरु हुनुअघि नै पीडितलाई घर हस्तान्तरण गर्न वैशाख २१ गते उपप्रधानमन्त्रीद्वय, प्रदेश २ का मुख्यमन्त्री र आठ जनामन्त्रीले बारा र पर्साको १२ ठाउँबाट एकै साथ हुरीपीडितको घर निर्माणको शिलान्यास गर्नुभएको थियो । चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकले बारा र पर्साका हुरीपीडितलाई वर्षा सुुरु हुनुअघि नै घर बनाइदिने र सो निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । जनता आवास कार्यक्रमको मोडेलमा घरहरू निर्माण गर्ने निर्णय सरकारले गरेको थियो ।
हुरीपीडितका घर निर्माणमा ढिलाइ भएकोेबारे नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले अविरल वर्षा र बाढीका कारण घर निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन नसकेको बताउनुभयो । त्यसैगरी, निर्माण सामग्री खरिद प्रक्रिया लम्बिएको र बाहिरबाट जनशक्ति लिनुपर्ने भएकाले निर्माण कार्य निर्धारित समयभन्दा केही ढिलो हुन पुगेको उहाँले स्पष्ट पार्नुभयो । प्रवक्ता पाण्डेले भन्नुभयो, “पुनर्निर्माण, पुनस्र्थापना सहजीकरण र समन्वय समितिको बैठकले पूर्व योजनाअनुसार साउन २६ गतेभित्र घर निर्माणको सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएकोमा बाढी तथा डुबानका कारण नौ दिन काम स्थगित भएकाले समय अभाव हुने देखिएको हुँदा भदौको दोस्रो सातासम्म लाग्ने सम्बन्धमा सम्बन्धित सम्पूर्ण निकायमा जानकारी गराइसकिएको छ ।”
घर निर्माणको ९४ दशमलव ९८ प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै उहाँले भदौको दोस्रो सातासम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने जानकारी दिनुभयो । घर निर्माणका लागि नेपाली सेनाको १२ वटा टोली परिचालन भएको र सेनाका २६ सय जवान खटिएको प्रवक्ता पाण्डेले बताउनुभयो ।