एजेन्सी । इङ्लिस प्रिमियर लिगमा चेल्सीले बराबरी खेलेको छ । शनिबार भएको खेलमा चेल्सीले सेफिल्डसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो । खेलको १९ औँ मिनेटमा टमी अब्राहमले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । अब्राहमलेनै खेलको ४३ औँ मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २–० गोलको अग्रता बनाएको चेल्सी दोस्रो हाफमा भने कमजोर बन्यो । सेफिल्डका लागि खेलमो ४६ औँ मिनेटमा रोविन्सनले गोल गर्दै टिमलाई बराबरी गर्ने अवसर शिर्जना गरे ।
खेलको ८७ औँ मिनेटमा चेल्सीले गरेको आत्मघाती गोलमार्फत सेफिल्डले खेल बराबरी ल्यायो । यो बराबरीसँगै चेल्सीले चार खेलबाट ५ अंक जोडेको छ । यता सेफिल्डको पनि चार खेलबाट ५ अंक छ ।