वीरगंज । साहिब बाबाको १ सय २३ औँ अवतरण दिवसको अवसरमा वीरगंजमा विरुवा रोपिएको छ । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडी रहेको साहिब दरबारका जग्गामा विरुवा रोपिएको हो । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले विरुवा रोप्दै वातावरण संरक्षणसँगै वीरगंजलाई हराभरा बनाउनका लागि सबैले खाली ठाउँमा विरुवा रोप्नुपर्ने बताए ।
उनले आफ्नै कार्यकालमा महानगरलाई हराभरा र सुन्दर बनाउने प्रतिबद्धता व्यक्त गर्दै महानगरलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नु पर्नेमा जोड दिए । साहिब बाबाको सन्देशलाई आत्मसाथ गर्नुपर्ने र समाजमा शान्त र भाइचारा बढाउनुपर्ने मेयर सिंहको भनाई छ । पछिल्लो समयमा धार्मिक साम्प्रदायिकता भड्काउने र उच्छृंखल गतिविधि बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले धार्मिक सहिष्णुता र सद्भावलाई कायम राख्नुपर्ने आवश्यक्ता औँल्याए ।
सो अवसरमा कटहर, निम्बु, मलेसियन, काउली बदाम, रोयल पाम लगायतका विभिन्न प्रजातीका विरुवा रोपिएको साहिब दरबार संस्थानका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । विरुवा रोपेर साहिब बाबाको अवतरण दिवस मनाइएको संस्थानका अध्यक्ष सहनीले बताए । जसपाका नेता प्रेमबाबु पटेल, महिला नेतृ रमिता माया गुप्ता, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, प्रेरणा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।