
वीरगन्ज | वीरगन्जमा प्रहरीले लागू ओैषध ब्राउन सुगर १०० ग्रामसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आइतबार दिउँसो वीरगन्ज महानगरपालिका–१६ माईधिया पोखरी अगाडिको सडकखण्डबाट शंकास्पद रूपमा पैदल हिँडिरहेका तीन जनालाई रोकेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उनीहरूको साथबाट १०० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । बरामद लागूऔषधसहित भारत बिहार राज्यकाे पूर्णिया जिल्ला सदर थाना घर भएका १९ वर्षीय कृष्णा कुजुर, १९ वर्षीय आदित्य राज तिगा र १८ वर्षीय आशिष कुँजुरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि लागूऔषध खरिद–बिक्री तथा ओसारपसार सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।