
वीरगंज | मुस्ताङको थासाङ गाउँपालिका–१, टुकुचेका निरज तुलाचनले यस वर्ष ५५ रोपनी क्षेत्रफलबाट उच्च घनत्वको स्याउ बिक्री गर्दै हुनुहुन्छ । गत वर्ष ७० लाख रुपियाँको स्याउ बिक्री गर्नुभएका तुलाचनको बगैँचामा यस वर्ष राम्रो फल दिएको छ ।
आफ्नो ५५ रोपनी र भाडामा २७ रोपनी जग्गा भाडामा स्याउ खेती गर्नुभएका तुलाचनले उच्च घनत्वको गाला, किङरोड र गोल्डेन स्याउको नयाँ बगैँचा विस्तार गर्नुभएको छ। तुलाचनजस्तै कर्म गुरुङ, सरोज तुलाचन, आङ्ग्या (ङवाङ) गुरुङ लगायत करिब एक सय कृषकले जिल्लाभर उच्च घनत्वको स्याउ बिक्री गर्दै आउनुभएको छ ।
कृषक तुलाचनले भन्नुभयो, ‘‘उच्च घनत्वको स्याउको उत्पादन बढेसँगै बजारमा पनि माग धेरै छ, हामीले बारीबाटै राम्रो मूल्यमा बिक्री गर्न पाएका छौँ ।’’
उहाँले गाला, किङरोड जाताको स्याउलाई बगैँचामै प्रति केजी साढे दुई सय रुपियाँमा ब्यापारीलाई बिक्री गरेको बताउनुभयो । केही व्यापारीहरूले भने काँचो स्याउ नै बोटमा खरिद गरी अहिले ब्यापारीले धमाधम टिप्न थालेका छन् ।
जिल्लाका पाँचवटै स्थानीय तह, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याउ जोनले समेत अनुदानसहित उच्च घनत्वको स्याउलाई प्रोत्साहन गरेकाले कृषक उत्साहित छन् ।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङकी निमित्त प्रमुख बबिता नेपालीले जिल्लाभर ६५ हेक्टरमा उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउखेती गरिएकोमा कृषकले धमाधम टिपेर बिक्री गर्न थालेको बताउनुभयो ।
निमित्त प्रमुख नेपालीले भन्नुभयो, ‘‘यसैहप्ता मुस्ताङको स्याउ बजारमा जान्छ, आकार र प्रकारका हिसाबले पनि गुणस्तरयुक्त भएकाले बजारमा माग पनि उच्च छ ।’’
यस वर्ष अनुकूल मौसमसँगै बगैँचा व्यवस्थापन, रोग कीराको समस्या कम रहेको अवस्थामा उत्पादन बढ्ने र ढुवानीसमेत समयमै हुने भएको छ । जिल्लाको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ६५ हेक्टर क्षेत्रफलमा उच्च घनत्वको स्याउ खेती गरिएको छ ।
मुस्ताङमा रैथाने स्याउ रोयल, रेड, रिचारेड र गोल्डेन स्याउ र फुजी स्याउ भदौ २२ गतेपछि मात्रै बजारमा जान्छ । भदौ महिनामा मुस्ताङमा उत्पादन हुने स्याउ बजारमा जाने भएकाले भारतीय स्याउलाई विस्थापित गर्ने व्यवसायी जिना तामाङले बताउनुभयो ।
मुस्ताङमा स्थानीय स्याउ ८ सय ३० हेक्टर क्षेत्रफलमा खेती भएको छ भने ५६६ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउको बोटले ६ हजार ७८ मेट्रिक्टन उत्पादन उत्पादन हुने लक्ष्य राखिएको छ ।
प्रति हेक्टर १०.७४ मेट्रिक टन स्याउ उत्पादन हुन्छ । त्यसैगरी उच्च घनत्वको स्याउ खेती ६५ हेक्टर क्षेत्रफलमा फैलिएकोमा ८ हजार ४ सय ९६ मेट्रिक टन स्याउ उत्पदान हुने अनुमान गरिएको छ ।
गत वर्ष मुस्ताङबाट स्थानीय प्रजातिको रोयल, रेड, रिचारेड र गोल्डेन स्याउ र फुजीमा ८ सय ३२ हेक्टर तथा उच्च घनत्वको (हाइब्रिड्र) ६० हेक्टरमा गरिएको स्याउ खेतीबाट स्थानीय प्रजातिको कुल ५ सय ८३ हेक्टर क्षेत्रफलबाट रू ७८ करोड ८९ लाख ७० हजार रुपियाँ र उच्च घनत्वमा ६० हेक्टरमा उत्पादन भएको ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन थियो ।
स्थानीय प्रति हेक्टर १०.४१ र उच्च घनत्व २६.१२ मेट्रिक टन स्याउ उत्पादन हुन्छ । मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्याउ उत्पादनका लागि हब मानिएकोमा जलवायु परिवर्तनका कारण पछिल्लो समय लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा समेत स्याउ खेती विस्तार भएको छ ।
स्थानीय तहका कृषि शाखामार्फत औजार वितरण, आधुनिक प्रविधि, समयमै मलजल सहित प्राविधिक तालिमका कारण रसिला र गुलिया, आकार ठुलो र धेरै दिनसम्म पनि ताजा रहने भएकोले बजार माग उच्च छ ।