
वीरगंज |राजन कुमार बानिया । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पर्साको धोबीनी गाउँपालिकामा अध्यक्ष पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ। निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न बाँकी रहे पनि गाउँपालिकाको नेतृत्वका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र रूपमा सक्रिय व्यक्तिहरूको नाम चर्चामा आउन थालेको हो।
हाल धोबीनी गाउँपालिकाको अध्यक्षमा मदन प्रसाद चौहान रहेका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा चौहान ३ हजार ९१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी वशिष्ठनारायण प्रसाद कुर्मीले ३ हजार ७१ मत प्राप्त गरेका थिए।
आगामी निर्वाचनलाई लिएर अहिले नै विभिन्न व्यक्तिहरूले आफ्नो राजनीतिक सक्रियता बढाउन थालेका छन्। युवा नेता सुदिल पटेल, सन्तोष पटेल, सुरेश प्रसाद कुर्मी, राजु पटेल र सदाम हुसेनलगायतका नाम अध्यक्ष पदका सम्भावित आकांक्षीका रूपमा स्थानीय राजनीतिक वृत्तमा चर्चामा छन्।
चर्चामा रहेका व्यक्तिहरूले शिक्षा, रोजगारी, कृषि, पूर्वाधार तथा स्थानीय विकासका विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्। उनीहरूको राजनीतिक सक्रियता र स्थानीयस्तरमा बढ्दो उपस्थितिले आगामी निर्वाचनलाई लिएर चासो बढाएको छ।
धोबीनी गाउँपालिकाको आगामी नेतृत्वलाई लिएर विभिन्न राजनीतिक दलभित्र पनि सम्भावित उम्मेदवार र चुनावी रणनीतिबारे छलफल हुन थालेको बताइएको छ। दलगत समीकरण, स्थानीय राजनीतिक सम्बन्ध तथा उम्मेदवारको व्यक्तिगत प्रभावले आगामी निर्वाचनको वातावरणमा प्रभाव पार्न सक्ने स्थानीय राजनीतिक वृत्तको आकलन छ।
यद्यपि, निर्वाचनको औपचारिक प्रक्रिया सुरु भइनसकेको अवस्थामा अध्यक्ष पदका लागि चर्चामा रहेका नामहरूलाई अन्तिम उम्मेदवारका रूपमा लिन सकिने अवस्था छैन। दलहरूले उम्मेदवार छनोट तथा आधिकारिक निर्णय गर्न बाँकी रहेकाले आगामी दिनमा आकांक्षीको संख्या र समीकरणमा समेत परिवर्तन आउन सक्ने देखिन्छ।