
वीरगंज | भारतको उत्तर प्रदेशमा करिब ७२ घण्टादेखि भइरहेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । भारी वर्षासँगै आएको बाढी, जलभराव, घर तथा रुख ढल्ने लगायतका घटनामा शनिबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ । वर्षाले कृषि क्षेत्रमा समेत ठुलो असर पारेको छ ।
शनिबार उत्तर प्रदेशका अधिकांश क्षेत्रमा तीव्र हावासहित मुसलधारे वर्षा भएको थियो । करिब १० जिल्लामा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको जनाइएको छ । आइतबार बिहान राजधानी लखनऊसहित आसपासका क्षेत्रमा पनि हल्का वर्षा जारी रहेको थियो ।
५८ जनाको मृत्यु
अविरल वर्षाका कारण धेरै स्थानमा कच्ची घर भत्किएका छन् भने रुख र विद्युत्का पोल ढलेर सडक अवरुद्ध भएका छन् । विद्युत् लाइनमा समेत क्षति पुगेपछि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाजन्य दुर्घटनामा प्रदेशभर ५८ जनाको मृत्यु भएको हो ।
सबैभन्दा धेरै २६ जनाको मृत्यु अवध क्षेत्रका जिल्लामा भएको छ । सीतापुरमा ६, बहराइचमा ५, बलरामपुर र अयोध्यामा ४–४, बाराबंकीमा ३, गोन्डा र अमेठी तथा श्रावस्तीमा पनि मानवीय क्षति भएको छ । लखीमपुर खीरीमा ६, गोरखपुरमा ५, हरदोईमा ४ तथा हमीरपुरमा ३ जनाको मृत्यु भएको छ । अन्य केही जिल्लामा पनि एक–दुई जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।
एकै दिन ३४२ मिलिमिटर वर्षा
शनिबार लखीमपुर खीरीमा ३४२ मिलिमिटर वर्षा भएको थियो । सीतापुरमा २७३.२, बाँदामा २४५.६ र बहराइचमा २३९ मिलिमिटर वर्षा मापन गरिएको छ । बाँदा र हमीरपुरमा एकै दिनको वर्षाको पुरानो रेकर्डसमेत तोडिएको छ । कानपुरमा १७५.४ मिलिमिटर वर्षा भएपछि त्यहाँ ४५ वर्षको रेकर्ड तोडिएको जनाइएको छ ।
वर्षाका कारण बरेलीमा अधिकतम तापक्रम २१.३ डिग्री सेल्सियसमा झरेको थियो, जुन सेप्टेम्बर महिनाको त्यहाँको रेकर्ड भएसम्मको अहिलेकै न्यूनतम भएको बताइएको छ । इटावा, शाहजहाँपुर, मुरादाबाद र आगरा पनि सेप्टेम्बरको अहिलेसम्मकै चिसो दिनमध्ये एक भएको विवरणमा उल्लेख छ ।
आइतबार पनि भारी वर्षाको चेतावनी
भारतीय मौसम विभागका अनुसार आइतबार पनि उत्तर प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ । मुरादाबाद, रामपुर, पीलीभीत र बरेलीमा अति भारी वर्षाका लागि ओरेन्ज अलर्ट जारी गरिएको छ । तराई क्षेत्रका थप नौ जिल्लामा भारी वर्षाका लागि येलो अलर्ट जारी गरिएको छ । प्रदेशका २७ जिल्लामा मेघगर्जनसहित ४० देखि ६० किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ ।
क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहका अनुसार सोमबारदेखि उत्तर प्रदेशमा वर्षाको गतिविधि घट्ने सम्भावना छ ।
लखनऊमा सडकदेखि विमानस्थलसम्म प्रभावित
लगातारको वर्षाले राजधानी लखनऊका धेरै सडक जलमग्न भएका छन् । कतिपय क्षेत्रमा घुँडासम्म पानी जमेको थियो । पुरनिया ओभरब्रिजमुनि खाल्डाखुल्डीमा पानी जम्दा अटो र ई–रिक्सा पल्टिएका थिए । निशातगन्जमा करिब १५० वर्ष पुरानो बरको रूख ढलेको छ ।
नगर निगमका अनुसार लखनऊमा मात्रै १२५ भन्दा बढी रुख ढलेका घटना भएका छन् । केही स्थानमा सवारीसाधनमा क्षति पुगे पनि ती घटनामा मानवीय क्षति नभएको जनाइएको छ ।
भारी वर्षाका कारण चारबाग रेलवे स्टेसनको क्षेत्रमा पनि पानी जमेको थियो । रेलमार्गमा पानी आएपछि लखनउ मण्डलका केही रेलखण्डमा रेलको गति घटाइएको थियो । कम भिजिबिलिटीका कारण लखनउ विमानस्थलमा आउन लागेका छवटा उडान दिल्ली तथा नोएडा डाइभर्ट गरिएका थिए । ती सबै विमान शनिबार बिहान लखनउ फर्किएका थिए ।
सीमावर्ती क्षेत्रमा उच्च सतर्कता
नेपालमा समेत भारी वर्षा भइरहेका कारण उत्तर प्रदेशका सीमावर्ती, विशेषगरी पूर्वी उत्तर प्रदेशका जिल्लामा नदीको जलस्तर बढ्न सक्ने भन्दै प्रशासनलाई थप सतर्क रहन निर्देशन दिइएको छ । सम्बन्धित जिल्लाका अधिकारीलाई नदीको जलस्तर निरन्तर निगरानी गर्न तथा बाढी उद्धार टोलीलाई तयारी अवस्थामा राख्न भनिएको छ ।
उत्तर प्रदेशका ६३ जिल्लामा सामान्यभन्दा बढी वर्षा भएको जनाइएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर सामान्यभन्दा १९ गुणा बढी वर्षा भएको विवरणमा उल्लेख छ । फर्रुखाबादमा सामान्यभन्दा २०० गुणा र कानपुर नगरमा १६० गुणा बढी वर्षा भएको जनाइएको छ ।
सरकारले पछिल्लो ४८ घण्टामा अतिवृष्टि र हावाहुरीका कारण ११७ वटा घरमा क्षति पुगेको जनाएको छ । प्रभावित परिवारको तत्काल सर्वेक्षण गरी राहत उपलब्ध गराउन तथा जोखिममा रहेका कच्चा घरमा बस्ने परिवारलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ ।