
वीरगंज | पोखरिया, असोज ११ गते । पर्साको पोखरिया नगरपालिका–६ र ८ मा रहेका दुई विद्यालयलाई उपकार सेवा नेपालले नेजामुद्दीन शमानीको पहलमा ५ थान पंखा हस्तान्तरण गरेको छ।
विद्यार्थीको सहज अध्ययन तथा पठनपाठनका लागि वडा नं. ६ स्थित श्री दलित उत्थान प्राथमिक विद्यालय, शिर्सिया तथा वडा नं. ८ स्थित ने.रा. प्राथमिक विद्यालय, बैरिया बिर्ता, मननपुरलाई पंखा उपलब्ध गराइएको हो।
आइतबार आयोजित कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, प्रधानाध्यापक विजय पटेल तथा समाजसेवी प्रकाश थारूको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक रामअयोध्या रौनियारलाई पंखा हस्तान्तरण गरिएको थियो |
कार्यक्रमका समन्वयकर्ता लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीले गर्मी मौसममा विद्यार्थीहरूले सहज, शान्त र अनुकूल वातावरणमा अध्ययन गर्न सकून् भन्ने उद्देश्यले विद्यालयलाई पंखा सहयोग गरिएको बताए।
“मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनासहित शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उपकार सेवा नेपालले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिने जनाएको छ।