
पर्सा । राजन कुमार बानिया । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
अध्यक्ष यादवका अनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख ५१ हजार रुपैयाँ, गाउँपालिका जनप्रतिनिधिहरूको एक महिनाको तलब–भत्ता बराबरको रकम तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरूले नेपाल सरकारले तोकेबमोजिम उपलब्ध गराउने रकम संकलन गरी कुल १५ लाख रुपैयाँ सहयोग गरिनेछ।
गाउँ कार्यपालिकाको बैठकबाट निर्णय भएको रकम संकलन गरी दुई–तीन दिनभित्रै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिए।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विपद्को कठिन समयमा प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आकस्मिक बैठक बोलाएर आर्थिक सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष यादवले बताए।