अमेरिका | अमेरिकाको न्यू योर्कमा सडक दुर्घटनामा परी मृत्यु भएका चार किशोरकिशोरीले टिकटक च्यालेन्जका लागि कार चोरी गरेको हुनसक्ने अमेरिकी सुरक्षा अधिकारीले जनाएका छन् । टिकटकमा भाइरल ‘किया च्यालेन्ज’ का लागि कार चोरी गर्ने क्रममा दुर्घटनामा परी उनीहरु मारिएको हुनसक्ने अमेरिकी सुरक्षा अधिकारीको विश्वास छ ।
६ जना किशोरकिशोरी सवार कार सोमबार दुर्घटनामा परेको थियो । उक्त कार न्यू योर्क राज्यको बुफेलो सहरबाट चोरी भएको भनी उजुरी परेको जनाइएको छ । दुर्घटनामा १४ देखि १७ वर्षका किशोरकिशोरीहरु मारिएका हुन् । पाचौँ यात्रु हाल अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको जनाइएको छ भने १६ वर्षे चालक अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछि उनीहरुले ‘किया च्यालेन्ज’ मा सहभागी भएको खुलासा भएको थियो । केही समययता भाइरल यस च्यालेन्जमा युएसबी कोर्ड र स्क्रुड्राइभरको सहयोगमा ह्युन्डाई र किया कार स्टार्ट गरेको भिडियो टिकटकमा अपलोड गरिन्छ ।
गत जुलाई महिनायता फ्लोरिडा राज्यको सेन्ट पिटर्सबर्ग सहरमा कार चोरीका घटनामध्ये एक तिहाइ यसै च्यालेन्जसँग सम्बन्धित रहेको बताइएको छ । त्यसैगरी, क्यालिफोर्निया राज्यको लस एन्जल्स सहरका अधिकारीले यस च्यालेन्जका कारण ह्युन्डाई र किया कार चोरीका घटनामा ८५ प्रतिशतले वृद्धि भएको जनाएका छन् ।