

पर्सा | वीरगन्ज महानगरपालिका–२५ सिर्सियाबाट आइतबार राति प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा भारतको मोतिहारी, मिश्र कोलोनी डंकन रोड–७ निवासी २८ वर्षीय रितेश कुमारको साथबाट ५ ग्राम ६९ मिलिग्राम ब्राउनसुगर फेला परेको हो।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ड्राईपोर्टबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । मोटरसाइकल, लागुऔषध र पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय छपकैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।





