

सिम्रौनगढ | सिकिन्द्र साह | चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको आयोजनामा राष्ट्रिय महाअभियान अन्तर्गतको “वनको कुरा गाउँमा” कार्यक्रम सिम्रौनगढ नगरपालिका – २, रानीवास मठमा सम्पन्न भएको छ।
अभियानका संयोजक सुनिल कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा वन, चुरे संरक्षण, वनजंगलको महत्व र स्थानीय समुदायको भूमिकाबारे छलफल गरिएको थियो।



कार्यक्रममा प्रमुख अतिथि रौतहट जिल्ला समन्वय समितिका मन्जु महमद रहनु भएको थियो। उहाँले वन जोगाउनु भनेको मानव जीवन जोगाउनु भएको बताउँदै चुरे क्षेत्रको संरक्षणमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो।
त्यस्तै विशिष्ट अतिथिहरु, स्थानीय अगुवा, किसान, समाजसेवी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरुले चुरे क्षेत्रमा भइरहेको वन फँडानी, नदीजन्य पदार्थको अवैध दोहन र वातावरणीय असन्तुलनले तराई-मधेशमा पारेको असरबारे चिन्ता व्यक्त गरेका थिए। वनको संरक्षण नगरे भोलिका दिनमा खानेपानीको संकट, बाढी-पहिरो र कृषि उत्पादनमा ह्रास आउने उनीहरुको भनाइ थियो।
कार्यक्रममा सहभागीहरुले गाउँ-गाउँमा पुगेर वन संरक्षणबारे जनचेतना फैलाउने, बिरुवा रोप्ने र चुरे जोगाउने अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए।कार्यक्रमको सहजीकरण बुधीनाथ उप्रेतीले गरेकाे थिए।


