

वीरगंज | दसैँ र तिहारमा गाउँघरमा पिङ हाल्ने र खेल्ने परम्परा हराउँदै जान थालेपछि तनहुँका युवाहरू यसको संरक्षणमा जुटेका छन् । नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले जिल्लाको विभिन्न ठाउँमा युवा क्लबले लिङ्गे तथा रोटे पिङ निर्माण गरेका छन् ।
पछिल्लो समय मनोरञ्जनका आधुनिक साधन र प्रविधिको प्रयोग बढ्नुका साथै पिङ हाल्न आवश्यक जनशक्तिको अभाव हुन थालेपछि दसैँमा पिङ खेल्ने परम्परा सङ्कटमा परेको छ । गाउँघरमा पिङ हाल्ने चलन घट्दै गए पनि केही युवा क्लबले आफ्नै पहलमा पिङ निर्माण गरेर परम्परालाई निरन्तरता दिएका हुन् ।



भानु नगरपालिका–१२ घलेछापस्थित पुतलीचौरमा घलेछाप युवा क्लबको नेतृत्वमा लिङ्गे पिङ निर्माण गरिएको छ । लोप हुँदैगएको परम्परालाई जोगाउन र भावी पुस्तालाई यसको महत्व बुझाउन स्थानीय स्तरबाट स्रोत जुटाएर पिङ निर्माण गरिएको क्लबका अध्यक्ष कुशलचन्द्र अधिकारीले बताउनुभयो ।
त्यस्तै, व्यास नगरपालिका–१२ कमलबारीस्थित एकता युवा क्लबले पनि लिङ्गे पिङ निर्माण गरेको छ । पिङ हाल्ने परम्परा हराउँदै जान थालेपछि नयाँ पुस्तालाई यसको महत्व बुझाउन क्लबले १० हजार रुपियाँ खर्च गरेर पिङ निर्माण गरेको क्लबका अध्यक्ष ताराप्रसाद पन्थले जानकारी दिनुभयो ।
प्रविधिको विकाससँगै मनोरञ्जनका अन्य माध्यम बढेकाले पनि पिङप्रतिको आकर्षण घटेको उहाँको बुझाइ छ । पिङ निर्माण गरेर विद्यार्थी, अभिभावक र समुदायका अन्य सदस्यलाई समेत यस परम्पराबारे जानकारी दिन सकिने उहाँले बताउनुभयो । लिङ्गे पिङसँगै परम्परागत रोटे पिङसमेत लोप हुने अवस्थामा पुगेको छ ।
व्यास नगरपालिका–१० दुम्सीका शिक्षक श्रीकृष्ण आचार्यका अनुसार रोटे पिङ बनाउन बलियो सालको काठ, ठूला खम्बा, बाहा र फल्याक आवश्यक पर्छ । आवश्यक काठ जुटाउन, वन कार्यालयबाट अनुमति लिन र पिङ बनाउन सक्ने जनशक्ति पाउन कठिन हुँदै गएको उहाँले बताउनुभयो ।
दसैँ लागेपछि गाउँका चोक र बस्तीमा पिङ निर्माण गर्ने चलन थियो । बाबियोबाट लठ्ठा तयार पारेर लिङ्गे पिङ बनाउने गरिन्थ्यो भने रोटे र जाँते पिङ पनि आकर्षणका केन्द्र हुन्थे । दसैँमा पिङ खेलेर भुइँ छोड्नुपर्छ भन्ने मान्यतासमेत प्रचलित थियो । आधुनिक मनोरञ्जनका साधनसँगै मौलिक खेल र संस्कृतिलाई पनि स्थान दिन सके मात्रै पिङसँग जोडिएको दसैँको रौनक भावी पुस्तासम्म पु¥याउन सकिने घलेछाप युवा क्लबका अध्यक्ष अधिकारी बताउनुहुन्छ ।


