साग महिला भलिबल : नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा
वीरगंज संजाल
१३ मंसिर २०७६, शुक्रबार १५:२२
४५३९
काठमाडौं । गतिलो पदक जित्ने आशा गरिएको नेपाली महिला भलिबल टोली काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेपछि महिला टोलीले सेमिफाइनलमा स्थान बनाएको हो ।
लगातार २ खेलमा जित निकाल्दै भारत समूह ए बाट समुह बिजेताकारूपमा अन्तिम चारमा प्रवेश गर्यो भने नेपालले उपविजेताकारुपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । नेपालले भारतसंगको खेल गुमाए पनि संघर्षपूर्ण खेल खेलेको थियो ।
प्रतियोगिताको दुबै खेलमा पराजित भएको बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । समुहको पहिलो खेलमा नेपालले बंगलादेशलाई तीन शून्यको सोझो सेटमा पराजित गरेको थियो भने भारतसँग पनि तीन शून्यको सेटमा नै पराजित भएको छ ।
अब नेपालले सेमिफाइनलमा समुह बी को विजेतासँग खेल्नेछ । जसमा नेपालले श्रीलंका र माल्दिभ्समध्ये एक टिमलाई प्रतिद्वन्दी पाउने भएको छ ।