वीरगंज । कप्तान दीपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार त्रिभुवन आर्मी क्लबसामु ३०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ब्याटिङमा कप्तान दीपेन्द्र र आरिफ शेखको जोडी जमेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३०४ रनको विशाल योगफल खडा गर्याे । पुलिसका लागि दीपेन्द्रले १२५ बलमा ११ चौका र पाँच छक्कासहित १४० रन बनाए । उनलाई क्रिजमा राम्रो साथ दिएका आरिफ शेखले पनि १०९ बलमा आठ चौका र दुई छक्कासहित ९१ रन बनाए ।
६७–३ को दबाबपूर्ण अवस्थाबाट यी दुईले २०४ रनको साझेदारी गर्दै पुलिसलाई ठूलो योगफलसम्म पूर्याउन सहयोग गरे । यसबाहेक, ओपनर कुशल भुर्तेलले ३१, सुनिल धमलाले १३ र अमित श्रेष्ठले १० रन जोडे । आर्मीका विक्रम सोबले तीन विकेट विकेट लिँदा सुशन भारीले एक विकेट लिए । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि शनिबार सशस्त्र प्रहरी बलको एपीएफसँग खेल्नेछ ।