
वीरगंज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले संविधान जारी गर्दाको प्रक्रिया र त्यसमा समेटिएका धर्मनिरपेक्षता, संघीयता तथा गणतन्त्रबारे प्रश्न उठाएका छन्।
सांसद खत्रीले प्रथम राष्ट्रपति रामवरण यादवले संविधान जारी गर्दा आफू खुसी नभएको र संवैधानिक बाध्यताका कारण हस्ताक्षर गरेको बताएको दाबी गरेका छन्। उनले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संविधानमा धर्मनिरपेक्ष भएको मलाई पत्तै भएन’ भनेको बताएका छन्।
खत्रीले सामाजिक सञ्जालमार्फत संविधान जारी हुँदा तत्कालीन राष्ट्रपति र प्रधानमन्त्री दुवैको भूमिकाबारे प्रश्न उठाउँदै त्यस बेलाको संवैधानिक प्रक्रियामाथि पुनः बहस हुनुपर्ने आशय व्यक्त गरेका हुन्।
‘प्रथम राष्ट्रपतिले यो पनि भन्नु भएको रहेछ, ‘खुसी भएर संविधान जारी गरेको थिइनँ, संवैधानिक बाध्यताले हस्ताक्षर गरेँ।’ के तपाईंलाई सम्झना छ, ऊबेला स्व. पूर्वप्रधानमन्त्री सुशील कोइरालाको एउटा भनाइ बहुचर्चित थियो- संविधानमा धर्मनिरपेक्ष भएको मलाई पत्तै भएन,’ उनले लेखेका छन्, ‘संविधान जारी हुँदा न त्योबेलाका राष्ट्रपति खुसी हुनुहुन्छ न त तत्कालीन प्रधानमन्त्रीले कसरी जारी भयो भनेर पत्तो नै पाउनु भएको थियो। पूर्वप्रधानमन्त्री कोइराला पत्तै नपाइ बित्नुभयो, पूर्वराष्ट्रपति अझै खुसी हुनुहुन्न।’
खत्रीले नेपालमा धर्मनिरपेक्षता कसरी संविधानमा समावेश भयो भन्नेबारे प्रश्न गर्दै यसको जिम्मेवारी लिने को भन्ने प्रश्न गरे। ‘८१ प्रतिशत हिन्दु देशको संविधानमा धर्मनिरपेक्ष घुसाउने गिरोहमा को को थिए? अब कसले जवाफ दिन्छ? चाेरबाटोबाट ल्याएको धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र भन्ने आरोप लाग्दा यसको चित्तबुझ्दो जवाफ दिने नैतिक धरातल कसले राख्ला!’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
संविधानसभाले तय गरेको प्रक्रियाअनुसार मस्यौदामा जनताको लिखित रायसुझाव लिने व्यवस्था भए पनि करिब दुई लाख जनताबाट प्राप्त लिखित सुझावका पोका नखोलिएको उनको दाबी छ। त्यसको प्रभाव अहिले देखिन थालेको उनको भनाइ छ।
‘संविधानसभा आफैँले तय गरेको प्रक्रिया ड्राफटमा जनताको लिखित रायसुझाव लिने कुरा र करिब दुई लाख जनताको लिखित रायसुझावको पोका नखोल्दाको उपज भारी बन्दैछ,’ उनले भने।