
वीरगंज | रुसको बोल्शोई थिएटरले दुई सय ५० वर्ष पूरा गरेको अवसरमा शैली थिएटर तथा रुसी सदनले संयुक्त रूपमा आयोजना गरेको रुस–नेपाल रङ्ग–सप्ताह काठमाडौँको कलपोखरीस्थित रुसी सदनमा प्रारम्भ भएको छ ।
सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सिना तथा सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति व्रजेश खनालले द्वीप प्रज्वलन गरी संयुक्त रूपमा आयोजना गर्नुभएको साताव्यापी कार्यक्रमको उद्घाटन समारोहमा शुक्रबार प्रसिद्ध रुसी नाटककार आन्तोन चेखभको नाटक ‘अन्तिम गीत’ (द स्वान सङ) को मञ्चन गरिएको थियो ।
महेश पौड्यालद्वारा नेपालीमा रूपान्तरित उक्त नाटकमा प्रसिद्ध कलाकार सुनिल पोखरेल र सब्बु गुरुङले अभिनय गर्नुभएको छ । नाटकलाई नवराज बुढाथोकीले निर्देशन गर्नुभएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सूचना तथा सञ्चार मन्त्री डा. तिमल्सिनाले नेपाल र रुसको सम्बन्ध मैत्रीपूर्ण र प्रगाढ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, नाटकमञ्चनजस्ता साहित्यिक–सांस्कृतिक गतिविधिले उक्त सम्बन्धलाई अझ प्रगाढ तुल्याउन ठूलो भूमिका खेलिरहेको हुन्छ ।
कुलपति खनालले पनि यस प्रकारको पहलका निम्नि शैली थिएटरको प्रशंसा गरे, र थिएटरका आगामी गतिविधिमा प्रतिष्ठानको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । रुसी राजदूतावासका उपनियोग प्रमुख रिन्चेन रक्सएभले रुसमा रङ्ममञ्च परम्परा निकै समृद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नाट्यक्षेत्रमा नेपाल र रुसको सहकार्यमा अपार संभावना छ ।’ रुसी सदनका निर्देशक अनास्तासिया खोख्लोभाले आफ्नो रङ्गसाझेदार शैली थिएटरले नाट्यक्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको बताउनुभयो। निर्देशक नवराज बुढाथोकीले आफूले आफ्नै गुरु सुनिल पोखरेललाई यस भूमिकामा उतार्न पाउनु एउटा ठूलो सफलता भएको बताउनुभयो।
कार्यक्रममा कूटनीतिक नियोगका अधिकारी, साहित्यकार, कलाकार, पत्रकार, प्राज्ञ, शिक्षक, विद्यार्थी, तथा नाटकप्रेमीको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा रुसको बोल्शोई लगायत अन्य थिएटरमा सञ्चालित विभिन्न कार्यशालामा सामेल भएर फर्किनुभएका कलाकार एवं शैली थिएटरका महासाचिव सविन न्यौपानेलाई मन्त्री तिमल्सिनाले विशेष कदरपत्रसहित सम्मान पनि गर्नुभएको थियो ।