वीरगंज । मधेस प्रदेशले जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । शनिबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित गरेको हो । यसअघि आफ्नो पहिलो खेलमा मधेस प्रदेशले प्रदेश १ लाई ७२ रनले पराजित गरेको थियो ।
२६० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा १६७ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि विशाल विक्रम केसीले ३४, कृष्ण कार्कीले ३१, सन्दीप रजालीले २३ र अनिल खरेलले २२ रन बनाए । बलिङतर्फ मधेस प्रदेशका राजेश यादव र प्रदीप पासवानले समान ३–३ विकेट लिए । त्यस्तै, हरिशंकर शाहले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेस प्रदेशले ४८.४ ओभरमा सबै विकेटको क्षतिमा २५९ रन बनाएको थियो । मधेसका लागि कप्तान हरिशंकर शाहले ७६, सन्तोष कार्की र अनिल शाहले समान ५०–५० रन बनाए । बलिङतर्फ लुम्बिनीका कृष्ण कार्कीले तीन विकेट लिए । लगातार दुई खेलमा जित निकाल्दै मधेस प्रदेशले चार अंक बनाएको छ । तीन खेलबाट सबै खेलमा जित निकालेको नेपाल पुलिस क्लब एक खेलअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।