वीरगन्ज । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा नबुझाउने ६६ वटा सहकारीलाई कात्तिक मसान्तभित्र साँवा, ब्याज र हर्जानासहित सम्पूर्ण रकम बुझाउन अनुरोध गरेको छ ।
कोषले आज सार्वजनिक सूचना निकालेर २०६९ सालमा थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता नभएको भन्दै सम्पूर्ण रकम १५ दिनभित्र बुझाउन अनुरोध गरेको हो । कोषले तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्ने चेतावनी दिएको छ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले निकालेको सूचना अनुसार कर्जा नबुझाउनेमा प्रदेश एकका १२, मधेस प्रदेशका ६, बाग्मतीका १४, गण्डकी र लुम्बिनीका ३/३ वटा सहकारी रहेका छन् । त्यस्तै कर्णालीका १६ र सुदूरपश्चिमका १२ वटा सहकारी रहेका कोषले जनाएको छ ।
रकम बुझाएको तर हिसाब मिलान गर्न बाँकी रहेको भएमा आवश्यक भौचरसहित सचिवालयमा सम्पर्क गर्न पनि कोषले अनुरोध गरेको छ ।