वीरगंज । सुनको मूल्यमा निरन्तर वृद्धि भएपछि अहिले वीरगंजमा सुन व्यवसायीहरूमध्ये धेरैको बोहनीसमेत भइरहेको छैन । पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य राजधानीमा आज फेरि वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३०० र चाँदीमा प्रतितोला रु ५ ले वृद्धि भएको छ । छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० पुगेको छ । मङ्गलवार छापावाला सुन प्रतितोला रु ७१ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी सङ्घ पर्साका अध्यक्ष नीरजकुमार सर्राफले ९० प्रतिशत बिक्री खस्केको बताए । एक महीनाको अन्तरालमा रु ६० हजार प्रतितोलाको सुन आज भदौ ४ गते रु ७२ हजार प्रतितोला पुगिसकेको बताउँदै उनले सुनको कारोबार स्वात्तै घटेको बताए । वीरगंज क्षेत्रमा मात्र ३ सयभन्दा बढी सुनचाँदी पसल छन् ।
तीमध्ये आधाभन्दा बढीको बोहनीसमेत हुन नसकेको बताइएको छ । अध्यक्ष सर्राफकै नीरज इन्टरप्राइजेजमा अहिले दैनिक डेढ लाख मात्र बिक्री भइरहेको उनले बताए । सर्राफले लगन र चाडपर्वमा खासगरी सुनको माग बढी हुने गरेकोमा यसपटक चाडपर्व शुरू भएपछि सुनको मूल्य आकाशिएको कारण खरीद गर्नेहरूको सङ्ख्या निकै पातलिएको बताए ।