वीरगन्ज | साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ग्लोबल टेन्डरमार्फत खरिद गरी आयात भएका ४७ हजार बोरा डीएपी मल भिजेकै अवस्थामा वीरगन्जको सुख्खा बन्दरगाहमा आएको छ । तेस्रो मुलुकबाट आएको मल भारतको कोलकाता बन्दरगाह हुँदै आइतबार सुख्खा बन्दरगाहमा आइपुगेको हो । कामदारका अनुसार रेलको ब्यागनबाट अनलोड गरी बन्दरगाहको गोदाममा अनलोड गर्ने क्रममा अधिकांश मलका बोराबाट कालो पदार्थ झरिरहेको थियो । अधिकांश बोरा भित्रको मल सडेर कालो डल्लो परेको छ । गत भदौ पहिलो साता पनि २५ सय टन (५० हजार बोरा) डीएपी मल भिजेकै अवस्थामा वीरगन्जको सुख्खा बन्दरगाह आएको थियो । भदौमा आएको भिजेको मल हालसम्म जाँचपास भएको छैन । बन्दरगाहको गोदाममै थन्किएको छ ।
आपूर्तीकर्ताले मल सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गरी साल्ट ट्रेडिङको गोदाममा पुर्याएपछि मात्र हाम्रो जिम्मेवारीमा आउने साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । ‘बन्दरगाहमा आएको मल अहिले पनि सप्लायर्सकै जिम्मामा छ,’ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड वीरगन्जका प्रमुख आमोज लामिछानेले भने, ‘जाँचपास भएर साल्ट ट्रेडिङको गोदाममा आएपछि मात्र हाम्रो जिम्मामा आउँछ ।’ आपूर्तिकर्ता कम्पनीका भन्सार एजेन्टका प्रतिनिधिले गत मईमा बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेको जनाए । ‘नभिजेका मल पहिले नै आइसक्यो,’ ती एजेन्टले भने, ‘अहिले कोलकाता बन्दरगाहमा मल राख्न नदिएपछि भिजेको मल यहाँ ल्याइएको हो ।’
साल्ट ट्रेडिङ कार्यालयका अनुसार आपूर्तिकर्ता स्वीस सिंगापुर ओभरसिजले ठेक्का सकारे २५ हजार टनमध्ये अझै करिब ६ हजारदेखि आठ हजार टन मल आपूर्ति गर्न बाँकी छ । सम्वद्ध स्रोतका अनुसार कोलकोतामा रहेका अरु मल पनि भिजेको अवस्थामै छन् । सम्झौताबमोजिम आपूर्तिकर्ताले मल राम्रो अवस्थामा गोदाममा नदिएसम्म भुक्तानी नदिने साल्ट ट्रेडिङ लिमिटिडका अधिकारीले बताएका छन् । सम्झौतामा गोदाम डेलिभरी भएकाले एक पैसाको पनि भार साल्ट ट्रेडिङमाथि पर्ने अवस्था छैन । राम्रो अवस्थामा गोदाम गनेर दिएको मलको मात्र भुक्तानी गर्ने कर्मचारीले बताउँदै आएका छन् ।
सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रवक्ता जगदीश पुर्वेले भिजेको मल जाँचपास नहुने बताउँछन् । ‘गत भदौमा आएको भिजेको मल हालसम्म गोदाममै छ,’ उनले भने, ‘बिमाका सर्वेयरले सर्वे गरेपनि हालसम्म प्रतिवेदन बुझाएका छैनन् । भिजेको मल जाँचपास भएको छैन ।’
खराब मललाई नष्ट गरिने भन्सारका कर्मचारीले बताएका छन् । जानकारका अनुसार तेस्रो मुलुकबाट नेपालका लागि आएका सामान धेरै दिनसम्म भारतीय बन्दरगाहमा राख्न दिँदैनन् । आपूर्तिकर्ता कम्पनीको भन्सार एजेन्टका अनुसार एलसी खोलेर आएको सामान जे–जस्तो अवस्थामा छ त्यो नेपालमा इन्ट्री भएकै हुनपर्छ, जति कागजात सिपमेन्ट भएको छ, यो आउनैपर्छ ।भूषण यादव/कान्तिपुर