

वीरगंज | यस वर्षको भाइटीकाको दिन बुधबार दिउँसो देशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकोले विशेषगरी मध्यदेखि पूर्वतिरका भूभागमा यसको बढी प्रभाव पर्ने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भाइटीकाको दिन कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।



यसका साथै कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा समेत हल्का पानी पर्ने सम्भावना औँल्याइएको छ भने मधेस तथा कोसी प्रदेशको तराई भूभागका एक/दुई ठाउँमा पनि हल्का वर्षा हुन सक्ने मौसमविद्हरूको भनाइ छ।
काठमाडौं उपत्यकामा पनि भाइटीकाको दिन हल्का वर्षाको पूर्वानुमान गरिएको छ। उपत्यकाका केही स्थानमा वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। मौसमविद्हरूले उल्लेख गरेका छन्।


