

वीरगंज | चाडपर्वसँगै मौसम खुलेपछि मकवानपुरको ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको मकवानपुर गढी दरबारमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । निलो आकाश, घमाइलो मौसम र गढी परिसरबाट देखिने मनोरम प्राकृतिक दृश्यका कारण पछिल्लो समय मकवानपुर गढी घुम्न आउने पर्यटकको आकर्षण बढ्दै गएको हो ।
बागमती प्रदेशको राजधानी हेटौँडाबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथसँगै अवस्थित मकवानपुर गढी अध्ययन, अवलोकन, शैक्षिक भ्रमण तथा आन्तरिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ । मकवानपुरसहित चितवन, काठमाडौँ, पोखरा, बारा, रौतहट र सिन्धुलीलगायत जिल्लाबाट पर्यटक यहाँ पुग्ने गरेका छन् । सडकमार्ग हुँदै आवतजावत गर्ने यात्रु पनि समय मिलाएर गढी परिसरको अवलोकन गर्ने गर्छन् ।



समुद्री सतहदेखि एक हजार १७ मिटर उचाइको पहाडी थुम्कोमा रहेको मकवानपुर गढी ऐतिहासिक, पुरातात्त्विक र सामरिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । सेन वंशीय शासनको ऐतिहासिक विरासत बोकेको यस गढीले तत्कालीन राज्यको सुरक्षा व्यवस्था, वास्तुकला र नेपालको एकीकरण अभियानको इतिहास झल्काउँछ ।
मकवानपुर गढीभित्र वंशगोपाल मन्दिर रहेको छ । मन्दिरमा भगवान् कृष्णलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । मन्दिरभन्दा केही तल रहेको गुफाबाट कृष्ण ओहोरदोहोर गर्ने गरेको जनविश्वास रहेको पुजारी चन्द्रप्रसाद घिमिरेले बताउनुभयो । चितवनमा तोरी खेती हुने समयमा कृष्ण राति त्यहाँ जाने र बिहान फर्कने गरेको किंवदन्ती छ । यसरी राति बाहिर जाने क्रममा अनिष्ट हुन सक्ने आशङ्काले गाउँलेले कृष्णलाई बाँधेर राखेको जनश्रुति रहेको उहाँले जानकारी दिनुभयो ।
सेन वंशका राजाहरूले १३ औँ शताब्दीको सुरुतिर यस क्षेत्रमा शासन गरेको इतिहास पाइन्छ । सेन वंशका प्रतापी राजा मुकुन्द सेनको नामबाट मुकुन्दपुर, माकन्दपुर र मुकुनपुर हुँदै अपभ्रंश भएर मकवानपुर नाम रहन गएको जनविश्वास छ । सेन वंशका लोहाङ्गसेनदेखि अन्तिम राजा दिग्बन्धन सेनसम्मका शासकले करिब तीन सय वर्ष मकवानपुर गढीलाई राजधानी बनाएर शासन गरेको इतिहास छ ।
मकवानपुर गढी राजा तुला सेनको शासनकालमा निर्माण भएको विश्वास गरिन्छ । गढी तीन भागमा विभाजित छ । ठुलो गढी, सानो गढी र ढुङ्गे गढीमध्ये ठुलो गढीमा दुईवटा दरबार, मन्दिर तथा पानी ट्याङ्की रहेका छन् । ठुलो गढीको दक्षिण–पश्चिममा करिब तीन सय मिटरको दूरीमा सानो गढी र उत्तर–पूर्वमा करिब दुई किलोमिटरको दूरीमा ढुङ्गे गढी रहेको छ । नेपालको एकीकरण अभियान तथा विदेशी सेनालाई परास्त गरी राष्ट्रिय स्वाधीनता कायम गर्ने क्रममा मकवानपुर गढीले महत्वपूर्ण भूमिका खेलेको इतिहासमा उल्लेख छ ।


