मुकेश अम्बानी अब एसियाका सबैभन्दा धनी व्यक्ति रहेनन्
वीरगंज संजाल
२९ फाल्गुन २०७६, बिहीबार ०६:५०
४९९५
काठमाण्डौ | भारतीय उद्योगपति तथा रिलायन्स इण्डस्ट्रिजका मालिक मुकेश अम्बानी अब एसियाका सबैभन्दा धनी व्यक्तिको दोस्रो नम्बरमा खस्किएका छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्कटको सामना गरिरहेको बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि अम्बानी एसियाकै धनी व्यक्तिको सूचीबाट केही खस्किएका हुन् ।
अम्बानीलाई चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक माले उछिनेका हुन् । ब्लुमबर्ग बिलिनियर इण्डेक्सका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि अम्बानीको रिलायन्स इण्डस्ट्री पनि खस्किएको हो ।
यही कारण अम्बानी दोस्रो स्थानमा पुगेका छन् ।
कोरोना भाइरसका कारण अलिबाबाले पनि केही मुश्किल सामना गर्नुपरेको थियो तर पछिल्लो समय क्लाउड कम्प्युटिङ्ग र मोबाइल एप्समा माग बढेका कारण कम्पनीको प्रदर्शन राम्रो देखिएको हो ।
एसियाका सबैभन्दा धनी बनेका ज्याक माको सम्पत्ति ४४ दशमलव ५ अर्ब डलर छ, जुन अम्बानीको सम्पत्तिभन्दा २ दशमलव ६ अर्ब डलरले धेरै हो ।