कोरोना फैलिएपछि विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओको चेतावनी
वीरगंज संजाल
१७ फाल्गुन २०७६, शनिबार ११:३०
४४०१
काठमाडौं | कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।कोरोना फैलने क्रम तीब्र भएकाले विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ ।डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी अझ ठूलो चुनौतीको रुपमा खडा भएको जनाएका छन् ।विश्वका ५० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २८ सय मानिसको मृत्यु भएको छ भने ८३ हजार भन्दा बढी संक्रमित भएका छन् ।मृत्यु हुनेमा २७ सय ९१ जना चिनियाँ नागरिक छन् । चीनमा संक्रमित हुनेको संख्या ७८ हजार ९ सय ६१ छ ।
चीनपछि इरानको अवस्था भयाभह
कोरोना भाइरसको प्रकोप चीनपछि इरानमा भयाभह देखिएको छ ।बीबीसीका अनुसार कोरोनाका कारण इरानमा २ सय १० जनाको मृत्यु भएको छ । यो संख्या इरानको आधिकारिक तथ्यांक भन्दा कयौंले बढी हो ।ज्यान गुमाउने तथा कोभिड–१९ बाट संक्रमित हुने अधिकांश राजधानी तेहरानका छन् । यस्तै कोम शहरमा पनि संक्रमितको संख्या धेरै रहेको जनाइएको छ ।इरानले भने अहिलेसम्म आधिकारिक रुपमा कोरोना भाइरसका कारण ३४ जनाको मात्रै मृत्यु भएको बताउँदै आएको छ ।
दक्षिण कोरियामा २९ सय भन्दा बढी संक्रमित
दक्षिण कोरियामा एकै दिन ५ सय ९४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।योसँगै त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या २९ सय ३१ पुगेको छ । अहिलेसम्म कोरोनाकै कारण दक्षिण कोरियामा १६ जनाको मृत्यु भएको छ ।
इटलीमा पनि अवस्था उस्तै
इटलीमा पनि कोरोनाले महामारीको रुप लिएपछि नाजुक अवस्था सृजना भएको छ ।शुक्रबार थप ४ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । संक्रमितको संख्या पनि बढेको छ । यसअघि ६ सय ५० जना संक्रमित भनिएकोमा यो संख्या बढेर ८ सय २१ पुगेको छ ।कोरोनाको संक्रमण बढेपछि १२ वटा शहरमा आवातजावत नै बन्द गरिए पनि महामारी रोकिन नसकेपछि रोकथामका अरु उपायहरु खोजी भइरहेको इटली सरकारले जनाएको छ ।अन्य युरोपेली मुलुकहरुमा पनि कोरोनाको संक्रमण देखा पर्न थालेपछि सम्बन्धित देशका स्वास्थ्य अधिकारीहरुले सघन छलफल थालेका छन्।जापानमा पनि कोरोनाले महामारीको रुप लिएपछि एक महिनालाई शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।