

वीरगंज | युक्रेनसँग अमेरिकी प्याट्रियट वायु रक्षा प्रणालीका लागि प्रयोग हुने इन्टरसेप्टर मिसाइलको मौज्दात सकिएको सीएनएनले जनाएको छ । यसले रुसी ब्यलिस्टिक मिसाइल आक्रमण रोक्ने युक्रेनको क्षमतामा गम्भीर असर पार्न सक्ने बताइएको छ ।
यो अवस्था अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच सार्वजनिक रूपमा बढिरहेको मतभेदका बीच आएको हो ।



पछिल्ला दिनमा ट्रम्प प्रशासनले रुसी डिजेल आयातसम्बन्धी सम्झौताका कारण आलोचना खेपेको छ भने युक्रेनलाई रुसी तेल पूर्वाधारमाथिका आक्रमण रोक्न दबाब दिइरहेको छ ।
जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पले गरेको सम्झौताबाट आफूले धोका पाएको महसुस गरेको बताएका छन् । उनले रुसी तेल प्रशोधन केन्द्रमाथि युक्रेनका आक्रमण जारी रहने पनि स्पष्ट पारेका छन् ।
जेलेन्स्कीले महिनौँदेखि ब्यालिस्टिक मिसाइललाई आकाशमै नष्ट गर्न सक्ने प्याट्रियट इन्टरसेप्टरको अभावबारे चेतावनी दिँदै आएका छन् ।
यी मिसाइल महँगा हुनुका साथै विश्वभर सीमित मात्रामा उपलब्ध छन् । इरानमा जारी युद्धका कारण केही देशले आफ्ना मौज्दात प्रयोग गरेका छन् भने अन्यले आफ्नै सुरक्षा आवश्यकताका लागि मिसाइल सञ्चित गरिरहेका छन् ।
सीएनएनसँग कुरा गर्दै एक स्रोतले इन्टरसेप्टरको अभावका कारण पछिल्लो रुसी आक्रमणमा प्रहार गरिएका अधिकांश बलिस्टिक मिसाइल रोक्न नसकिएको बताएको छ ।
मंंगलबार रातिदेखि बुधबार बिहानसम्म भएको आक्रमणमा रुसी बलिस्टिक मिसाइलले किभका तीनवटा ऊर्जा केन्द्र ध्वस्त पारेका थिए भने खार्किभको ऊर्जा पूर्वाधारलाई पनि निशाना बनाएका थिए । आक्रमणमा किभमा चार जनाको मृत्यु भएको र २५ जना घाइते भएको बताइएको छ ।
प्याट्रियट मिसाइलको आपूर्तिका लागि पहल
युक्रेनी वायुसेनाले पछिल्लो आक्रमणका क्रममा चारवटा रुसी ब्यालिस्टिक मिसाइल निष्क्रिय पारेको जनाएको थियो । तर, यसले युक्रेनसँग बाँकी रहेका प्याट्रियट मिसाइलसमेत प्रयोग भइसकेको संकेत गर्ने स्रोतको भनाइ छ ।
युक्रेनको प्याट्रियट मिसाइल मौज्दात सकिएको यो पहिलो घटना भने होइन । जेलेन्स्कीले थप मिसाइल प्राप्त गर्न आफूले निरन्तर प्रयास गरिरहेको सार्वजनिक रूपमा बताउँदै आएका छन् ।
गत अगस्टको मध्यमा प्याट्रियट प्रणालीसम्म पहुँच पाउने सीएनएन पहिलो सञ्चारमाध्यम बनेको थियो । त्यसबेला युक्रेनी अधिकारीहरूले पनि देशसँग इन्टरसेप्टर मिसाइलको मौज्दात लगभग सकिएको बताएका थिए ।


