सिन्धुपाल्चाेक : रुघाखोकी र ज्वराे फैलिएको गुम्बा गाउँका बिरामीकाे नमुना परीक्षण गर्न काठमाण्डौ ल्याइँदै
वीरगंज संजाल
१ फाल्गुन २०७६, बिहीबार ०९:२८
४१९७
सिन्धुपाल्चाेक | रुघाखोकी र ज्वरो फैलिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा गाउँका बिरामीकाे नमुना परीक्षण गर्न काठमाण्डौ ल्याइने भएको छ ।
नमुना लिन काठमाण्डाैबाट गएको डाक्टरसहितको टोली बिहान १० बजेतिर गुम्बा गाउँ पुग्ने जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।
टेकुमा रहेको प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्रै रोगबारे थप पुष्टि हुनेछ । रुघाखोकी र ज्वरो देखिएका तीन सय जना बिरामीमध्ये दुई जना बालबालिकाको अवस्था गम्भीर छ । अहिले एक जना डाक्टरसहितको टोलीले प्रभावित क्षेत्रमा बिरामीको उपचार गरिरहेको छ ।
डाक्टरकै सल्लाहमा ती दुई बालबालिकालाई गाउँमै राखेर उपचार थालिएको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै रुघाखोकी र ज्वरो प्रभावित क्षेत्रमा थप औषधि र सात सय वटा मास्क (मुखावरण) पठाइएको छ ।
मास्कको अभाव भएकाले सहयोगका लागि जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले आग्रह गर्नुभएको छ ।