कोरोना भाइरस सतर्कता : भरतपुर अस्पतालले रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै जचाउने
वीरगंज संजाल
१९ माघ २०७६, आईतवार १२:४३
५०५३
चितवन | भरतपुर अस्पतालले बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ अलग गरेको छ । पाँच वटा टिकट काउण्टरमध्ये एउटामा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सोमबारदेखि अस्पताल छिर्ने रुघाखोकी र ज्वरोका बिरामीलाई सबै परीक्षण अलगरुपमा गर्ने व्यवस्था मिलाइएको छ । कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए ।
उपचारसँगै सचेतनामा पनि अस्पताल जुटेको छ । कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सचेतना जगाउने उद्देश्यले आज अस्पताल परिसरमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले मास्क लगाएर नमस्कार गर्दै सन्देश प्रवाह गरेका छन् । कार्यालय समय शुरु हुने समयमा बिहान १० बजे पछि सबै अस्पताल बाहिर भेला भएर एकै साथ मुखमा मास्क लगाएर दुई हात जोडी नमस्ते गरेका थिए ।
सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तिवारीले हात नमिलाऔँ दिल खोलेर नमस्ते गरौँ भन्ने आम नागरिकलाई सन्देश प्रवाह गर्न छोटो कार्यक्रम गरिएको बताए । बिरामीको उच्च चाप हुने समयमा सबैलाई सचेतना जगाउने गरी भिडभाडमा मास्क लगाउन र हात नमिलाउन सन्देश प्रवाह भएको उनले जानकारी दिए।
आफूलाई जचाउने चिकित्सक कर्मचारी नै उभिएर नमस्ते गरेपछि उपचारका लागि आएका बिरामी र तीनका आफन्तले अस्पतालको दृश्य हेरेर त्यसको कारणबारे सोधपुछसमेत गरेका थिए । प्रमुख तिवारीले चिकित्सक, कर्मचारीलाई उपचारका क्रममा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
अस्पतालमा पाँच श्ययाको विशेष ९आइसोलेसन०कक्ष स्थापना गरिसकिएको छ । अस्पतालका दुई जना विशेषज्ञ फिजिसियनलाई सो कक्षको जिम्मेवारीसमेत दिइएको छ । अस्पतालले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग कोरोना भाइरसका विषयमा विशेष अन्तक्र्रियासमेत गर्ने जनाएको छ ।
केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा चितवनसहित १९ भन्दाबढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । गत वर्ष तीन लाखभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिएका थिए । हाल दैनिक एक हजार २०० हाराहारी बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउने गर्दछन् । यसमध्ये झण्डै ७० जना रुघाखोकी र ज्वरोको हुने गरेको अस्पतालले जनाएको छ ।nepal post daily