

काठमाडौं । अमेरिकामा बेपत्ता भएकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा उनका पति नरेश भट्ट अदालतबाट दोषी ठहर भएका छन्।
करिब ६ हप्तासम्म चलेको सुनुवाइपछि अमेरिकाको भर्जिनिया राज्यस्थित अदालतले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या (फर्स्ट डिग्री मर्डर) मा दोषी ठहर गरेको हो। अदालतले ममताको शवको अपमान गरेको र लुकाएको कसुरमा समेत उनलाई दोषी पाएको छ।



यसअघि सुनुवाइका क्रममा नरेशले ममता बेडरुममा मृत अवस्थामा भेटिएको र आफूले शव व्यवस्थापन मात्रै गरेको दाबी गरेका थिए। तर सरकारी वकिलले उनको दाबीलाई मनगढन्ते र आधारहीन भन्दै खारेज गर्न जुरीसमक्ष आग्रह गरेका थिए।
वरिष्ठ सहायक सरकारी वकिल सारा सामीले नरेशले ममताको हत्या गरेर शव टुक्राटुक्रा पारी फोहोरमा फालेको जिकिर गरेकी थिइन्। उनले भर्जिनियाको लुरायस्थित ल्यान्डफिललाई ममताको अन्तिम विश्रामस्थल बनाइएको बताउँदै परिवारले उनको अन्तिम संस्कारसमेत गर्न नपाउने अवस्था सिर्जना भएको उल्लेख गरेकी थिइन्।
प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएका नरेशलाई कम्तीमा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्छ। त्यस्तै, शव लुकाएको र अपवित्र पारेको कसुरमा प्रत्येकमा पाँच वर्षसम्म कैद सजाय हुन सक्नेछ। उनलाई हुने अन्तिम सजाय आगामी मार्च महिनामा सुनाइनेछ।
नरेश दोषी ठहर भएको फैसला सार्वजनिक हुँदा ममताका साथी तथा स्थानीय नेपाली समुदायका सदस्यहरू अदालत भवनबाहिर भेला भएर खुसी व्यक्त गरेका थिए।
ममता भर्जिनियास्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। सन् २०२४ अगस्ट १ मा उनी काममा उपस्थित नभएपछि सहकर्मीहरूले उनको अवस्थाबारे चासो व्यक्त गरेका थिए।
त्यसपछि प्रहरीले ममता र नरेश बस्दै आएको घरमा पुगेर अनुसन्धान सुरु गरेको थियो। सुरुमा नरेशले ममता हराएको विश्वास नभएको र आफूले उनलाई जुलाई २९ मा अन्तिमपटक देखेको बताएका थिए। उनले ममता घर छाडेर जान चाहेको तथा सम्बन्धविच्छेदको कुरा गरेको दाबीसमेत गरेका थिए।
नरेशले अगस्ट ५ मा ममता हराएको भन्दै औपचारिक उजुरी दिएका थिए। तर परिवार र साथीहरूले सानी छोरीलाई छाडेर ममता कसैलाई जानकारी नदिई घरबाट गएको भन्ने कुरामा विश्वास गरेका थिएनन्।
यसपछि प्रहरीले सन् २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो। ममताको हत्या मुद्दामा अदालतले नरेशलाई दोषी ठहर गरे पनि उनको शव भने अहिलेसम्म फेला पर्न सकेको छैन।


