

वीरगञ्ज ।मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट खाद्यान्न आयातमा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा वीरगन्ज नाका हुँदै आयात हुने चामल, मकै, धान, माल्टलगायत खाद्यान्नको परिमाण घटेको हो।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा चामल, मकै, गहुँ, माल्ट, धान तथा फापर, कोदो र अन्य खाद्यान्न गरी कुल ३ करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो।



भन्सारको तथ्यांकअनुसार चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ९४ लाख १ हजार किलो चामल आयात भएको थियो। चामल आयातको मूल्य पनि अघिल्लो वर्षको ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर यस वर्ष ७० करोड रुपैयाँमा सीमित भएको छ।
त्यस्तै, पशुपन्छीको दाना तथा खाद्य उद्योगमा प्रयोग हुने मकैको आयातमा पनि ठूलो कमी आएको छ। अघिल्लो आवको पहिलो तीन महिनामा ३ करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकोमा चालु आवमा ६७ लाख ३६ हजार ४३७ किलो मात्र आयात भएको छ। मकै आयातको मूल्यसमेत १ अर्ब ८० करोड १३ लाख रुपैयाँबाट घटेर ६० करोड ९८ लाख रुपैयाँमा झरेको छ।
धान आयातमा पनि उल्लेख्य गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ करोड ९१ लाख किलो धान आयात भएकोमा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्र आयात भएको छ। धान आयातको मूल्य अघिल्लो वर्ष १ अर्ब ४६ करोड २८ लाख रुपैयाँ रहेकोमा यस वर्ष घटेर ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ।
यसैगरी, अघिल्लो वर्षको पहिलो तीन महिनामा २५ लाख ९० हजार किलो माल्ट आयात भएकोमा चालु आवमा यसको आयात शून्य रहेको छ। अघिल्लो वर्ष १७ करोड १० लाख रुपैयाँ बराबरको माल्ट आयात भएको थियो।
फापर, कोदो तथा अन्य खाद्यान्नको आयातमा पनि कमी आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा २३ लाख ४१ हजार ६५५ किलो आयात भएकोमा चालु आवमा घटेर १६ लाख ४० हजार ५५५ किलोमा सीमित भएको भन्सारको तथ्यांकले देखाउँछ।
यद्यपि, अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा आयात नभएको गहुँ भने यस वर्ष उल्लेख्य परिमाणमा भित्रिएको छ। चालु आवको पहिलो तीन महिनामा ९५ लाख ५४ हजार किलो गहुँ आयात भएको छ। यसको आयात मूल्य ५० करोड १५ लाख रुपैयाँ रहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
यसरी चामल, मकै, धान, माल्टलगायत खाद्यान्नको आयात घट्दा वीरगन्ज नाकाबाट हुने समग्र खाद्यान्न आयातमा गिरावट आएको छ भने गहुँको आयात भने यस वर्ष नयाँ रूपमा थपिएको छ।


