

काठमाडौं । बर्दियामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा एक जना सामान्य घाइते भएका छन्। बाँसगढी नगरपालिका–५ स्थित मोतिपुर जंगलको भित्री सडकखण्डमा भे.५ प ९१६१ र भे.११ प ८५६७ नम्बरका मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय ओमकार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका थारुलाई उपचारका लागि भारतको लखनउ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा बारबर्दिया नगरपालिका–३ बानियाभार निवासी २५ वर्षीय आशिष थारु, भारतको लौकाइ निवासी १८ वर्षीय सहाबुदिन खान र सोही स्थानका २०/२२ वर्षीय जमाल खान गम्भीर घाइते भएका छन्।



आशिषको टाउकोमा चोट लागेको छ भने सहाबुदिनको टाउको र अनुहार तथा जमालको टाउको, मुख र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।
त्यस्तै, भे.११ प ८५६७ नम्बरको मोटरसाइकलमा पछाडि सवार बाँसगढी नगरपालिका–७ निवासी १८ वर्षीय रमन थारु सामान्य घाइते भएका थिए। उनको कौशिल्या अस्पताल बाँसगढीमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।


