

वीरगंज | स्थानीय उत्पादनको उपयोग र सिपको प्रवर्धन गर्ने उद्देश्यले तनहुँको शुक्लागण्डकी नगरपालिकाले राम्रो माला उन्ने प्रतियोगिता आयोजना गरेको छ ।
सयपत्री फूलबाट छोटो समयमा आकर्षक र मौलिक माला तयार पार्ने प्रतिस्पर्धामा प्रमिला खनाल प्रथम हुनुभएको छ । प्रतियोगितामा सुशील ढकाल द्वितीय र श्रीमाया श्रेष्ठ तृतीय हुनुभएको छ । प्रतियोगितामा २५ जनाले सहभागिता जनाएका थिए ।



कृषिउपज सङ्कलन केन्द्र बेलचौतारामा मङ्गलबार आयोजित प्रतियोगितामा सहभागीले ६ मिनेटभित्र सयपत्री फूलको माला तयार पारेका थिए । मालाको मौलिकता, आकर्षण र बुनाइको सिपका आधारमा विजेता छनोट गरिएको थियो ।
फूल उत्पादनमा आत्मनिर्भर बनेको शुक्लागण्डकी नगरपालिकाले स्थानीय फूलको प्रयोग बढाउन र माला उन्ने सिपको संरक्षण तथा प्रवर्धन गर्न प्रतियोगिता आयोजना गरेको हो ।
नगरप्रमुख कृष्णराज पण्डितले स्थानीय उत्पादनको उपयोग बढाउनुका साथै स्थानीय सिप र कलालाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । स्थानीयस्तरमा उत्पादित फूलको प्रयोग बढाउन सके किसानलाई समेत प्रोत्साहन मिल्ने उहाँको भनाइ छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । विजेतालाई नगरप्रमुख पण्डित र उपप्रमुख खुमबहादुर विकले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । ‘पर्यटन, कृषि र पूर्वाधारः समृद्ध शुक्लागण्डकीको आधार’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो ।


