

वीरगञ्ज । वीरगञ्जको छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लंघन भएको पाइएपछि सञ्चालकलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
बिरयानी खाँदा साङ्लो भेटिएको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले होटलमा अनुगमन गरेको थियो।



अनुगमनका क्रममा होटलको भान्सा तथा परिसरमा सरसफाइको कमी देखिनुका साथै दहीमा किरा र मासु सडेको अवस्थामा फेला परेको थियो। खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना नगरेको पाइएपछि सञ्चालकलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो।
अनुगमन टोलीले तत्काल सरसफाइमा सुधार गर्न तथा खाद्य सामग्रीलाई धुलो, धुवाँ र किराफट्याङ्ग्राबाट सुरक्षित राख्न निर्देशन दिएको छ।साथै, दिइएका निर्देशन कार्यान्वयन गरी सात दिनभित्र जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पर्क गर्नसमेत होटल सञ्चालकलाई भनिएको छ।


